
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको भेटघाट बाक्लिएको छ। केपी शर्मा ओलीविरुद्धको मोर्चाबाट लामो समयदेखि सहयात्री रहेका दुई नेताबीच दैनिकजसो भेटवार्ता भइरहे पनि त्यसको उद्देश्य र सम्भावित परिणामलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दो छ।
माओवादी नेताहरूका अनुसार यी वार्ताको शीर्ष एजेण्डा पार्टी एकता हो। विशेषतः माओवादी केन्द्रभित्र जनार्दन शर्माको खुला असन्तोष र चुनौतीबीच प्रचण्डले आफ्नो सत्तारोहण सुरक्षित राख्न एकताको बाटो रोजेका हुन्।
तर, प्रचण्डको सक्रियताले माधव नेपाललाई दबाबमा पारेको छ। स्रोतका अनुसार, नेपालले पछिल्ला भेटहरूमा प्रचण्डलाई अहिले हतार नगर्न सुझाव दिएका छन्। “हाम्रो पार्टी सग्लै एकतामा आउने अवस्थामा छैन,” नेपाल पक्षका एक नेताले बताएका छन्, “अहिले माओवादीसँग एकता गर्दा हाम्रो ठूलो पंक्ति एमालेतिर फर्किन सक्छ।”
त्यसै कारण नेपाल पक्ष तत्काल एकताका लागि सकारात्मक देखिए पनि व्यवहारिक रुपमा हतार गर्न नचाहेको बताइएको छ।
अर्कोतर्फ, प्रचण्ड भने राजनीतिक शक्ति एकत्रित गर्न सक्रिय देखिन्छन्। उनले विगतमा बाबुराम भट्टराई समूहलाई पुनः एकतामा ल्याइसकेका छन् भने महेन्द्र यादव नेतृत्वको अर्को समूहलाई पनि समायोजनको तयारीमा छन्। यसै क्रममा विप्लव समूहसँग पनि संवाद भइरहेको बताइएको छ।
प्रचण्डको रणनीतिक अर्को पाटो राजनीतिक दलसम्बन्धी ऐनसँग जोडिएको छ। उनले ४० प्रतिशतको आधारमा विभाजन रोकेर २० प्रतिशतमै नयाँ दल दर्ता गर्न सहज बनाइएको अध्यादेश संसदमा नपेस भएको परिस्थिति प्रयोग गरी माधव नेपाललाई पार्टी एकतामा ल्याउने प्रयास गरिरहेका छन्।
स्रोतका अनुसार, सरकारबाट राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको छ, जसले माधव नेपालको पार्टीमा संभावित विभाजनलाई सहज बनाउनेछ। यस्तो अवस्थामा पार्टी एकता नभए माधवको पार्टी थप कमजोर बन्ने जोखिम देखाउँदै प्रचण्ड दबाब दिइरहेका छन्।
यसअघि पनि अध्यादेश ल्याउने तयारीकै बेला प्रचण्ड–माधवबीच एकताको प्रयास भएको थियो। तर राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशले एमालेलाई फाइदा पुग्ने भन्दै रोकेपछि सरकार पछि हटेको थियो। त्यस बेला नेकपा एसका १० मध्ये ६ सांसद र १२५ भन्दा बढी केन्द्रीय सदस्य विभाजनको तयारीमा थिए।
पार्टी एकताका पछिल्ला वार्ताहरू गहन बन्दै गएका छन्। यद्यपि, माधव नेपालको सावधानी र पार्टीभित्रको सन्तुलन मिलाउनुपर्ने चुनौतीका कारण निकट भविष्यमा एकता हुने सम्भावना कमजोर देखिएको छ। प्रचण्डको तर्फबाट भने दबाब र रणनीति दुवै सक्रिय छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।