
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई जनताको सेवकको भूमिकामा रहि काम गर्न निर्देशन दिएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै ओलीले प्रहरीलाई शासकको हैसियतमा नभई सेवकको हैसियतमा काम गर्नुपर्ने बताए। उनले कसैलाई जबर्जस्ती मुद्दा फसाउने वा यातना दिने अभ्यास लोकतन्त्रमा अस्वीकार्य भएको उल्लेख गरे।
“राणा शासन र पञ्चायती व्यवस्थामा जस्तो झूटो आरोप लगाएर शासनसत्ता टिकाउने काम फेरि हुन हुँदैन,” ओलीले भने, “प्रहरीले न्यायोचित हिसाबले काम गर्नुपर्छ।”
उनले हालका केही तत्वहरूले आफूलाई “नयाँ शक्तिको भ्रम” फैलाउँदै अराजक गतिविधि गरिरहेको दाबी गर्दै समाज र राष्ट्रले त्यस्ता तत्वलाई सजाय दिनुपर्ने पनि बताए।
प्रधानमन्त्री ओलीले प्रहरी संगठनलाई आपराधिक गतिविधि, चोरी–डकैती, लागुऔषधको दुरुपयोग, मानव ओसारपसार, तस्करी र राजस्व चुहावट नियन्त्रणमा कडाइका साथ लाग्न आग्रह गरे।
“नेपाली सेनाले राष्ट्रको सुरक्षा गरिरहेको छ भने प्रहरी पनि आफ्नै योग्यता र दक्षताका आधारमा इमान्दारीपूर्वक जनताको सुरक्षा र सेवा गर्नुपर्छ,” उनले जोड दिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।