
विश्वको सातौं अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) आरोहणका लागि यस शरद ऋतुमा २४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित यो हिमाल आरोहणका लागि अनुमति दिने क्रममा ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर संकलन भएको छ।
शरद ऋतुमा सगरमाथा बाहेकका हिमालमध्ये मनास्लु आरोहणका लागि सर्वाधिक माग हुने गर्छ। यस सिजनमा मात्रै ३७४ जनाले मनास्लु आरोहण अनुमति लिएका छन् भने धवलागिरि दोस्रो रोजाइ बनेको विभागले जनाएको छ।
आरोहण टोलीहरू आधार शिविरतर्फ प्रस्थान गर्न थालेका छन्। धवलागिरि–४ का वडा सदस्य तथा इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाका अनुसार, यस वर्ष अधिकांश आरोहीहरूले मुस्ताङको मार्फा हुँदै आधार शिविर पुग्ने बाटो रोजेका छन्। म्याग्दीको मुदी–बगर हुँदै जाने परम्परागत पदमार्ग बिग्रिएको र लामो भएकाले वैकल्पिक मार्ग रोजिएको हो।
धवलागिरि आरोहणलाई अन्य हिमालभन्दा बढी जोखिमपूर्ण र साहसिक मानिन्छ। छिनछिनमा बदलिने मौसम, हिमपहिरो र भौगोलिक जटिलताका कारण चुनौतीपूर्ण हुने यो हिमाल साहसी आरोहीहरूको आकर्षणको केन्द्र रहँदै आएको छ। गत वर्षको शरद ऋतुमा मात्रै हिमपहिरोमा परी पाँच जना रुसी आरोहीले ज्यान गुमाएका थिए।
धवलागिरि पहिलोपटक सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरसहितको टोलीले सफलतापूर्वक आरोहण गरेका थिए। त्यसयता धवलागिरि हिमाल साहसिक आरोहीहरूको प्रमुख गन्तव्यका रूपमा परिचित बनेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।