२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

 विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको अर्थतन्त्रमा व्यापक दबाब पर्ने जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधाभन्दा कम हुने देखिएको छ। प्रतिवेदनले नेपालका लागि सम्भावित वृद्धिदर दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित हुने उल्लेख गरेको छ।

विश्व बैंकका विश्लेषकहरूले हालको राजनीतिक अस्थिरता, लगानीकर्ताको घट्दो विश्वास, पर्यटन क्षेत्रमा आएको गिरावट र बीमा तथा वित्तीय क्षेत्रमा देखिएको दबाबले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन घट्ने र निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिले अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।

गत वर्ष नेपालको कुल गार्हस्थ उत्पादन करिब ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो भने मुद्रास्फीति दर ४.०६ प्रतिशतमा सीमित रह्यो। वैदेशिक मुद्रा भण्डार २.६७७ खर्ब रुपैयाँ पुगेको थियो। वैदेशिक रोजगारीबाट आउने प्रेषण रकम १९.२ प्रतिशत बढेर १.७२३ खर्ब रुपैयाँ पुगेको थियो।

अर्थतन्त्रको विभिन्न क्षेत्रमध्ये कृषि क्षेत्रमा ३.२८ प्रतिशत वृद्धि देखिएको थियो भने उद्योग र सेवा क्षेत्रमा उल्लेखनीय योगदान प्राप्त भएको थियो।

तर यस वर्ष राजनीतिक अस्थिरता, लगानीको वातावरण कमजोर हुनु र भौतिक संरचना क्षतिका कारण आर्थिक वृद्धि सुस्त हुने देखिएको छ। दक्षिण एसियाली क्षेत्रको औसत वृद्धि दर ६.६ प्रतिशत रहने अनुमान भए पनि नेपालमा राजनीतिक कारणले यस वर्ष वृद्धिदर घट्ने विश्व बैंकले जनाएको छ।

प्रतिवेदनले नेपालले निकट भविष्यमा आर्थिक पुनरुत्थानका लागि राजनीतिक स्थायित्व कायम राख्न, लगानीमैत्री नीति लागू गर्न र वातावरणीय सन्तुलनका उपायहरूमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय