राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद गर्दा अनियमितता गरेको अभियोगमा तत्कालीन उपकुलपति प्रा. डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा कम गुणस्तरको मेसिन खरिद गरी राज्यको करिब १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको दाबी गरिएको छ।
आयोगका अनुसार, उपकुलपति भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पतालका इन्जिनियर अमित कुमार चौधरी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी र सिभिल इन्जिनियर मदन भण्डारी पनि प्रतिवादीको सूचीमा छन्।
त्यसैगरी, तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि र सो कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवालीमाथि पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको छ।
अख्तियारले उनीहरू सबैमाथि आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाण पर्याप्त भेटिएको भन्दै कैद र बिगो जरिवानाको सजाय मागदाबी गरेको छ। आयोगका अनुसार, सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा राज्यको रकम हिनामिना गर्ने कार्यमा उनीहरूको प्रत्यक्ष संलग्नता देखिएको छ।