नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो गाडीमा छ्यापिएको रातो मसीको घटनापछि सरकार र उसका समर्थकप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। युवा संघको कोशी जागरण सभामा सहभागी हुन सुनसरी जाँदै गर्दा दुई युवाले बेलुनमा राखिएको रातो मसी गाडीमा प्रहार गरेका थिए।
घटनापछि बस्नेतले यस्तो व्यवहारलाई लोकतान्त्रिक मूल्य मान्यतामाथिको प्रहार भन्दै कठोर टिप्पणी गरे। “सरकार नै अलोकतान्त्रिक भएकोले उसले संरक्षण गरेका मानिसहरू पनि त्यही शैलीमा हिँडिरहेका छन्,” उनले भने, “यसरी मसी छ्यापेर विरोध जनाउने संस्कारले लोकतन्त्रलाई नै ठेस पुर्याउँछ।”
बस्नेतले विचार भिन्नता स्वाभाविक भए पनि प्रस्तुत गर्ने शैली सभ्य र शान्तिपूर्ण हुनुपर्ने आवश्यकता दोहोर्याए। उनका अनुसार विरोध जनाउने तरिकामा छलफल, नारा, कार्यक्रमजस्ता उपाय उपयुक्त हुन्छन्, तर बाटो छेक्ने वा आक्रमण गर्ने शैली स्वीकार्य छैन।
गत भदौ २३–२४ को आन्दोलनपछि ‘जेन–जी’ समूहको विरोधमा कडा आवाज उठाइरहेका बस्नेतले राजनीतिक इतिहास स्मरण गर्दै अहिले देखिएका गतिविधिलाई ‘अपरिपक्व’ को रूपमा व्याख्या गरे।
