नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हालै भएको भेटलाई ‘अर्थपूर्ण’ भन्दै त्यसको प्रभाव छिट्टै देखिन सक्ने बताएका छन्।
विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले देउवासँगको भेट राजनीतिक परिस्थितिबारे केन्द्रीत रहेको र देशले सामना गरिरहेको समस्यामा दुवै नेताबीच गम्भीर छलफल भएको बताए। उनले अहिले आलोचना भइरहे पनि शीर्ष नेताबीचको संवादलाई स्वाभाविक प्रक्रिया भन्दै यस्तो कुराकानी राष्ट्रहितका मुद्दामा केन्द्रित हुने गरेको उल्लेख गरे।
ओलीले देउवाको नेतृत्व क्षमतालाई स्वीकार्दै, “क्षमता नभए पाँच–पाँच पटक प्रधानमन्त्री बन्न सकिंदैन,” भन्ने टिप्पणी समेत गरे। उनका अनुसार भेटको वास्तविक परिणाम सार्वजनिक हुन केही समय लागे पनि त्यसले राजनीतिक गतिरोध समाधानतर्फ संकेत गर्नेछ।
देशमा १४३ वटा दल दर्ता भएको उदाहरण दिँदै ओलीले हालको ‘दल खोल्ने प्रवृत्ति’प्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार कुनै स्पष्ट नीति, विचार वा आर्थिक दृष्टिकोणबिना दल खोल्ने चलन राजनीतिक अस्थिरतामै थप बोझ बनिरहेको छ।
ओलीले राजनीतिक संवाद र सहकार्यलाई वर्तमान परिस्थितिबाट मार्ग निकाल्ने प्रमुख उपायका रूपमा प्रस्तुत गर्दै सबै पक्ष गम्भीर बन्नुपर्ने टिप्पणी गरे।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
