प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले एनपीएलको फाइनल नेपाली खेलकुद इतिहासका लागि महत्वपूर्ण र ऐतिहासिक क्षण भएको बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले फाइनलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई सफलताको शुभकामना दिँदै प्रतियोगिताले सिंगो देशलाई उत्साहित र एकताबद्ध बनाएको उल्लेख गरेकी छन्। उनका अनुसार एनपीएलले नेपाली जनतालाई एउटै भावना र गर्वको अनुभूतिमा जोड्न सफल भएको छ।
उनले खेलमार्फत नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र भएको सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह भएको उल्लेख गर्दै यसले देशको आत्मविश्वास बढाएको बताइन्। खेल केवल जित र हारमा सीमित नभई राष्ट्रिय एकता, आशा र सम्भावनाको प्रतीक बनेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री कार्कीले एनपीएलको सफल आयोजनामा योगदान पुर्याउने आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपाली खेलकुदले यस्तै सकारात्मक उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेकी छन्।
