राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सडकमार्ग हुँदै भैरहवा लगिँदै छ । काठमाडौंबाट हवाई यात्रामार्फत भैरहवा पुर्याउने तयारी भए पनि मौसम खराब भएका कारण जहाज उड्न नसकेपछि उनी भरतपुर हुँदै गाडीमा रुपन्देहीतर्फ प्रस्थान गरेका हुन् ।
जानकारी अनुसार रविलाई सुरुमा काठमाडौंबाट भरतपुरसम्म हवाईमार्गबाट लगिएको थियो । तर भरतपुरबाट भैरहवा जाने उडान पनि सम्भव नभएपछि उनलाई भरतपुर विमानस्थलबाट गाडीमा राखेर भैरहवा पठाइएको हो ।
रविसँगै उनकी पत्नी निकिता पौडेल पनि भैरहवा जाँदै छिन् । त्यस्तै, रास्वपाका नेताहरू हरि ढकाल, दिपका बोहरा र गणेश पराजुलीलगायतका नेता तथा कार्यकर्ता पनि उनको साथमा रहेका छन् ।
रविलाई भैरहवा लैजानका लागि सुरक्षाको व्यवस्था मिलाइएको जनाइएको छ । मौसम प्रतिकूलताका कारण हवाई उडान अवरुद्ध भएपछि वैकल्पिक रूपमा सडकमार्ग प्रयोग गरिएको बताइएको छ ।
भरतपुरबाट रुपन्देहीसम्मको यात्रामा रास्वपाका नेताहरू निरन्तर सम्पर्क र समन्वयमा रहेको जनाइएको छ । पार्टी स्रोतका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नका लागि रविलाई भैरहवा पुर्याइँदै छ ।

