२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित कानुनी मस्यौदा तयार गरेको छ। साथै, अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्थाका लागि पनि आवश्यक कानुनी तयारी अघि बढाइएको आयोगले जनाएको छ।

सोमबार प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन र व्यवस्थापनका विषयमा राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिसँग गरिएको छलफलमा आयोगले तयार पारेको मस्यौदामाथि विस्तृत प्रस्तुतीकरण गरेको हो। आयोगका प्रतिनिधिले अन्तर निर्वाचन क्षेत्रमा हुने मतदान र मतगणनाका क्रममा सम्बन्धित उम्मेदवारको प्रतिनिधित्व, मतदानका वैकल्पिक पद्धति र मतदानको गोपनियताजस्ता विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको र त्यसमाथि राय–सुझाव प्राप्त भएको जानकारी दिए।

प्रस्तुतीकरणमा अदालतका आदेश, निर्वाचन आयोगको तयारी अवस्था, स्रोत व्यवस्थापन, नयाँ व्यवस्थाको कार्यान्वयनबाट उत्पन्न हुने अवसर, प्रभाव र चुनौतीहरूलाई समेटेर मस्यौदा तयार गरिएको उल्लेख गरिएको छ। बैठकमा विदेशमा रहेका नेपालीले मतदान गर्ने विषय, अन्तर निर्वाचन क्षेत्र मतदान समानुपातिकतर्फ, प्रत्यक्षतर्फ वा दुवैमध्ये कुन प्रणालीअन्तर्गत हुने भन्ने विषय तथा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्पसहित मतदानको स्पष्ट धारणा अपेक्षा गरिएको आयोगका प्रतिनिधिले बताए।

विदेशबाट हुने मतदानको सन्दर्भमा विदेशस्थित नेपाली नियोगहरूको भूमिका स्पष्ट पार्नुपर्ने भएकाले मस्यौदामा नियोगहरूको जिम्मेवारी परिभाषित गरिएको आयोगले जनाएको छ। नियोगमा उपलब्ध भौतिक साधनको प्रयोग गर्न कानुनी व्यवस्थापन गरिएको र निर्वाचन आयोगले अधिकार प्रत्यायोजन गर्दा राजदूत तथा महावाणिज्यदूतसम्मलाई अधिकार दिन सक्ने व्यवस्था गर्न निर्वाचन आयोग ऐन २०७३ मा संशोधनसम्बन्धी प्रावधानहरू समेटिएको जानकारी दिइयो।

आयोगका प्रतिनिधिले निर्वाचन कसूर र सजाय ऐनमा बाह्य क्षेत्रसम्बन्धी व्यवस्था आवश्यक भएकाले त्यसलाई पनि मस्यौदामा समावेश गरिएको बताए। विद्युतीय माध्यमबाट निर्वाचन प्रक्रियामा अवाञ्छित फेरबदल भएमा कसूर मानिने र त्यसअनुसार सजायको व्यवस्था गरिने प्रावधान राखिएको छ। साथै, निर्वाचन घोषणा भइसकेपछि निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न नपाइने व्यवस्था पनि उक्त ऐनअन्तर्गत समेटिएको जानकारी दिइयो।

त्यसैगरी, मतदाता नामावली ऐन २०७३ अन्तर्गत विदेशमा रहेका नेपालीको नामावली संकलन गर्न बाह्य क्षेत्रीय प्रयोगको व्यवस्था, विदेशस्थित नेपालीको नाम दर्ता तथा मतदानका लागि अस्थायी मतदाताको प्रयोगसम्बन्धी विषयहरू समेटिएको आयोगले जनाएको छ। प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ मा विदेशबाट मतदानका लागि नियोगको परिभाषा र मतदान प्रक्रियासम्बन्धी व्यवस्था समावेश गरिएको उल्लेख गरिएको छ।

कानुनी मस्यौदामा विदेशमा हुने मतदान स्थगन र मतगणनासम्बन्धी प्रावधान पनि राखिएको आयोगले जानकारी दिएको छ। मस्यौदाअनुसार विदेशमा बसोबास गर्ने नेपाली समानुपातिकतर्फको मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। अन्तर–क्षेत्र निर्वाचनको हकमा भने समानुपातिक, प्रत्यक्ष वा दुवै प्रणालीमार्फत मतदान गर्न सक्ने गरी कानुनी प्रबन्धको मस्यौदा तयार गरिएको आयोगले स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय