नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार राजनीतिक संकटको केन्द्रमा पुगेको छ। सरकार गठनदेखि अहिलेसम्म उनले सामना गरिरहेका दबाब, आरोप र असहयोगले उनको नेतृत्वलाई झनै कठिन बनाएको छ।
जेनजी आन्दोलनपछि एमाले–कांग्रेस गठबन्धनको केपी ‘शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै देशले नयाँ मोड लिएको थियो। आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ७४ जनाको मृत्यु भएपछि उत्पन्न आक्रोशले मुलुक अस्थिर बनेको थियो। यही परिस्थितिमा संसद् विघटन गरी जेनजीका माग सम्बोधन गर्दै निष्पक्ष निर्वाचन गराउने जिम्मेवारीसहित सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
तर सरकार बनेसँगै चुनौतीहरू सुरु भए। नेकपा एमाले र नेपाली कांग्रेसले सरकारलाई संविधानविपरीत बनेको दाबी गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरे। संवैधानिक इजलासले सबै रिटहरूलाई एकैपटक सुनुवाइ गर्ने आदेश दिएपछि सरकारको वैधानिकतामाथि थप प्रश्न उठेको छ।
अर्कोतर्फ, संयुक्त जेनजी आन्दोलनले कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ। अवैधानिक गिरफ्तारी, घाइते बनाइएको र आन्दोलनलाई उत्तेजित बनाइएको भन्दै जेनजी नेताहरूले सरकारको कडा आलोचना गरेका छन्। उनीहरूले क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन्।
यहीबीच नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने अल्टिमेटम दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको ज्ञापनपत्रमा संविधान संशोधनदेखि जेनजी भावनाअनुसार राजनीतिक निकास खोज्नुपर्ने माग राखिएको छ। समयमै सुनुवाइ नभए परिस्थिति अझ विस्फोटक हुन सक्ने चेतावनी पनि दिइएको छ।
यी सबै दबाबबीच हिजो प्रधानमन्त्री सुशीला कार्की सार्वजनिक रूपमा भावुक र आक्रोशित देखिएकी छन्। बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै उनले आफूहरूलाई राजनीतिक दल र जेनजी समूह दुवैबाट निरन्तर ‘आजै छोड्, भोलि छोड्’ भन्ने दबाब आइरहेको गुनासो गरिन्। “हामी अचानो जस्तो भयौँ,” भन्दै उनले आफूहरू चारैतिरबाट गालीको निशाना बनेको बताइन्।
प्रधानमन्त्री कार्कीले सरकारसँग न असीमित शक्ति छ, न त जादुको छडी नै भएको स्पष्ट पारिन्। संक्रमणकालीन अवस्थामा बनेको यो सरकारको मुख्य जिम्मेवारी मुलुकलाई निष्पक्ष निर्वाचनसम्म पुर्याउनु मात्र भएको उनको भनाइ थियो। तर त्यही जिम्मेवारी पूरा गर्न खोज्दा निरन्तर अविश्वास, धम्की र असहयोग झेल्नुपरेको पीडा उनले व्यक्त गरिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीको आँखाबाट आँशु झरेको दृश्यले देश कति अप्ठ्यारो मोडमा पुगेको छ भन्ने संकेत गरेको छ। उनका अनुसार जेनजी आन्दोलन कुनै रहर नभई वर्षौंदेखिको राजनीतिक असफलता र भ्रष्टाचारविरुद्धको विस्फोट थियो। त्यही आन्दोलनको म्यान्डेट बोकेर बनेको सरकारले अहिले त्यही समूहको आक्रोश पनि सहनुपरेको छ।
प्रधानमन्त्री कार्कीले अहिले सरकार ढल्यो भने देश झनै शून्यता, अराजकता र अन्योलमा फस्न सक्ने चेतावनी दिइन्। उनका अनुसार अहिलेको एकमात्र निकास ताजा जनादेशका लागि निष्पक्ष निर्वाचन नै हो। संक्रमणकालीन अवस्थामा प्रधानमन्त्रीको आँशु व्यक्तिगत कमजोरी नभई मुलुक जोगाउन खोज्दा भोग्नुपरेको पीडा र असहयोगको प्रतिविम्ब भएको सन्देश उनले स्पष्ट रूपमा दिएकी छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
