प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
शुक्रबार ताप्लेजुङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुख्य निर्वाचन अधिकृतसहित स्थानीय सुरक्षा प्रमुखलाई निर्देशन दिँदै निर्वाचन भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो। निर्वाचनको तयारी, वातावरण र सुरक्षा अवस्थाबारे जानकारी लिन उहाँ ताप्लेजुङ भ्रमणमा आउनुभएको हो।
जिल्लास्थित निर्वाचनसम्बद्ध पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले सम्भावित चुनौतीलाई ध्यानमा राखी निर्वाचन सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिनुभयो। देशभर निर्वाचनको माहोल बनिसकेको उल्लेख गर्दै उहाँले सुरक्षा संयन्त्रलाई चनाखो र मजबुत रहन आग्रह गर्नुभयो।
भारतको सिक्किम र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङका संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभयो। मतदान स्थलको संवेदनशीलता ध्यानमा राखी सम्भावित हुलदङ्गा, बुथ कब्जा, होहल्ला जस्ता गतिविधि हुन सक्ने भएकाले सोही अनुसार आवश्यक प्रबन्ध मिलाउन उहाँले सुझाउनुभयो।
निर्वाचनको वातावरण बिथोल्ने, अशान्ति मच्चाउने वा असामाजिक गतिविधि गर्ने तत्त्वप्रति सचेत रहनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ। त्यस्ता समूह वा तत्त्वको पहिचान गरी निरुत्साहित गर्न सुरक्षा संयन्त्र सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले जिल्लामा भइरहेको निर्वाचन तयारीबारे जानकारी लिनुभएको थियो। निर्वाचनसम्बन्धी कार्यसम्पादन, आवश्यक समन्वय र सुरक्षा निकायले गरिरहेको मतदान स्थलको अवलोकन तथा निरीक्षणप्रति उहाँ सन्तुष्ट देखिनुभएको बताइएको छ। हालसम्मको प्रगतिअनुसार निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धमा कुनै कमी हुन नदिन उहाँले आग्रह गर्नुभयो।
ताप्लेजुङ जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित परामर्श भेटघाट कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठले निर्वाचन तयारी र प्रगतिबारे जानकारी गराउनुभएको थियो। सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले प्रधानमन्त्रीलाई अवगत गराउनुभएको छ।
प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनसमेत गर्नुभएको छ। शुक्रबार बिहान ८ बजे ताप्लेजुङ पुग्नुभएकी उहाँले पहिलो चरणमा पाथीभरा मन्दिरको दर्शन गर्नुभएको थियो। त्यसपछि सदरमुकाम फुङ्लिङमा निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा प्रमुखसँग परामर्श गरी अपराह्न १२ बजेतिर काठमाडौँ फर्किनुभयो।

