२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ले लोकप्रियतावादी (पपुलिस्ट) राजनीति मुलुकका लागि घातक हुन सक्ने बताएका छन्।

गृह जिल्ला रोल्पाको लिवाङमा आयोजित पत्रकार सम्मेलनमा उनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले देशलाई सही दिशा दिन नसक्ने बताए। रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले ठाउँअनुसार फरक–फरक अभिव्यक्ति दिने प्रवृत्तिको आलोचना गरे।

उनले भने, “काठमाडौंमा सङ्घीयताको विरोध गर्ने र जनकपुर पुगेर सङ्घीयता चाहिन्छ भन्ने, काठमाडौंमा सुकुम्बासी र साना व्यवसायीलाई खेद्ने अनि झापा पुगेर उनीहरूको पक्षमा छु भन्ने—जहाँ जसले जे सुन्न चाहन्छ त्यही बोल्ने पपुलिस्ट राजनीति घातक छ।”

पुनको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) प्रति लक्षित मानिएको भए पनि उनले कसैको नाम लिएनन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्पष्ट प्रतिबद्धता, गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतालाई पूर्ण समावेशीतामा रूपान्तरण गर्ने तथा आर्थिक असमानता घटाउने एजेन्डामा सहमति भए नयाँ भनिएका दलसँग सहकार्य गर्न तयार रहेको बताए।

“अहिलेको उपलब्धि खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, उपलब्धि जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न तयार छौँ,” उनले भने।

पुनले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा १८ महिना चलेको सरकारले सुशासन र बिचौलिया नियन्त्रणको अभियान थालेको दाबी गरे। उक्त अभियानबाट आत्तिएर नेपाली कांग्रेसनेकपा एमाले मिलेर केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको उनको आरोप छ।

उनले निर्वाचन कसैले रोक्न नसक्ने स्पष्ट गर्दै मुलुक निर्वाचन प्रक्रियामा अघि बढिसकेको बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय