
काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मिति र समयमै निर्वाचन सम्पन्न हुने भएकाले कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन्।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पारे। अझै केही उम्मेदवारहरूले निर्वाचनबारे संशय राख्दै फोन गर्ने गरेको उल्लेख गर्दै उनले भ्रममा नपरी प्रचारप्रसारमा सक्रिय हुन आग्रह गरे।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै भण्डारीले अब निर्वाचनको वातावरण बिथोलिने अवस्था नबन्ने जिकिर गरे। राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ता प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ थियो।
निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले नजिकबाट अनुगमन गरिरहेको उनले बताए।
“केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न नचाहिने हल्ला फैलाउन सक्छन्,” उनले भने, “तर अब नेपाली जनता त्यस्ता प्रायोजनका साक्षी बस्दैनन्। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
