
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दैछन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत एमाले निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार दिनभर कमल गाउँपालिकाका आठ स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ ।
बिहान ११ बजे कमल–५ को सिम्लेस्थित सिरिजङ्गा चोकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा भेटघाट गर्नेछन् । साढे १ बजे कमल–३ को सानो केर्खामा मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।
दिउँसो साढे २ बजे कमल–४ को भलायोडाँडामा कार्यक्रम हुनेछ । त्यसपछि साढे ३ बजे कमल–२ को भुत्लुङमा वडा कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । सोही वडाको जीवन चोकमा ४ बजे अर्को कार्यक्रम तय गरिएको छ ।
अपरान्ह साढे ४ बजे कमल–४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट हुनेछ भने साँझ ५ बजे कमल–५ को रत्नपुर टोल मङ्गलबारेमा पुगेर आजको कार्यक्रम सम्पन्न गरिने निर्वाचन परिचालन समितिले जनाएको छ ।
भेटघाटका क्रममा स्थानीयले उठाएका समस्या र सुझावका आधारमा बाँकी विकास निर्माणका कामको योजना बनाइने संयोजक दाहालले जानकारी दिएका छन् ।
अध्यक्ष ओलीले टोलटोलमा पुगेर स्थानीयका समस्या प्रत्यक्ष सुन्ने र तत्काल समाधानका योजना तयार गर्ने रणनीति लिएको बताइएको छ । विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै उनीहरूकै घरआँगनमा पुगेर समस्या सुन्ने अभ्यासलाई निरन्तरता दिइएको सचिवालयले जनाएको छ ।
यसअघि बुधबार पनि अध्यक्ष ओलीले झापा–५ अन्तर्गत गौरीगञ्ज गाउँपालिकाका ११ स्थानमा पुगेर मतदातासँग भेटघाट गरेका थिए ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
