राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही–३ का संस्थापक सभापति ओम पौडेलले पार्टीबाट राजीनामा दिएका छन्।
फागुन २१ गते सामाजिक सञ्जालमार्फत छोटो स्ट्याटस लेख्दै उनले आफ्नो जिम्मेवारी पूरा भएको बताएका थिए। देशभर रास्वपाले चुनावी सफलता हासिल गर्दै कार्यकर्ता र समर्थकमा उत्साह थपिरहेका बेला पौडेलले हिजो राति पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
उनले फागुन २२ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएका हुन्। पौडेलले रास्वपाको लुम्बिनी प्रदेश समितिका महासचिवलाई सम्बोधन गर्दै राजीनामा पत्र सार्वजनिक गरेका छन्।
पार्टीमा जिम्मेवारी सम्हालिरहेका एक प्रमुख नेता अचानक बाहिरिएपछि रुपन्देहीको राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको बताइएको छ।
पौडेल रास्वपाको रुपन्देही–३ का निवर्तमान सभापति हुनुका साथै लुम्बिनी प्रदेश अन्तर्गत नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख को जिम्मेवारीमा समेत रहेका थिए। उनले २०७९ चैत १४ गते सदस्यता नम्बर १८१६ लिएर पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका थिए।
राजीनामा पत्रमा उनले पुराना राजनीतिक दलका गलत पात्रहरूले स्थापित गरेको संगठित ठगी, राज्य संयन्त्र कब्जा, सेटिङमा हुने तस्करी, संस्थागत भ्रष्टाचार, बेरोजगारी तथा वैदेशिक रोजगारीमा जाने नेपालीलाई समेत शोषण गर्ने आपराधिक सञ्जालविरुद्ध आवाज उठाउने उद्देश्यले रास्वपामा आबद्ध भएको उल्लेख गरेका छन्।
उनले रास्वपा सभापति रवि लामिछानेले देखाएको साहस र आँटप्रति ऐक्यबद्धता जनाउँदै पार्टीमा प्रवेश गरेको उल्लेख गर्दै अहिले निर्वाचन सम्पन्न भएसँगै आफूले आफ्नो कर्तव्य पूरा भएको ठानेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,
‘मेरो उद्देश्य पुराना राजनीतिक दलका गलत पात्रहरूले स्थापित गरेको संगठित ठगी धन्दा, राज्य संयन्त्र कब्जा, सेटिङमै हुने तस्करी र संस्थागत भ्रष्टाचारविरुद्ध लड्ने थियो। त्यो उद्देश्यका लागि मैले पार्टीमा आबद्ध भएर योगदान दिएको हुँ।’
पौडेलले रास्वपा आफ्नो पहिलो राजनीतिक दल भएको उल्लेख गर्दै सुरुवाती समयमा संगठन नै नभएको अवस्थामा बाहिर बस्नु भन्दा भित्र बसेर योगदान दिन उचित ठानेर पार्टीमा लागेको बताएका छन्।
तर राजनीतिमा अवसरवाद हाबी रहेको र रास्वपाभित्र समेत दोहोरो चरित्र देखाउने तथा पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति देख्दा आफूलाई दुःख लागेको उनको भनाइ छ।
उनले लेखेका छन्,
‘राजनीति साँच्चिकै फोहोरी छ। हरेक दलमा अवसरवाद हाबी छ। रास्वपामै पनि दोहोरो चरित्र देखाउने र केवल पदका लागि जे पनि गर्न सक्ने व्यक्तिहरू देख्दा दुःख लागेको छ।’
यद्यपि आफूले कुनै पद नपाएको कारण वा अर्को दलमा अवसर खोज्ने उद्देश्यले पार्टी नछोडेको स्पष्ट पार्दै उनले अब स्वतन्त्र नागरिकको रूपमा बस्न चाहेको बताएका छन्।
‘मलाई स्वतन्त्रता मन पर्छ। सही र गलत छुट्याउन सक्ने स्वतन्त्र नागरिक भएर बस्न चाहन्छु। त्यो तागत कुनै दलको झण्डामुनि बसेर होइन, देशको झण्डामुनि बसेर मात्र सम्भव हुन्छ भन्ने मैले बुझेँ,’ उनले उल्लेख गरेका छन्।
पौडेलले भविष्यमा पनि राजनीतिप्रति चासो राख्ने नागरिकका रूपमा सक्षम र भिजन भएका व्यक्ति वा समूहलाई समर्थन गर्ने बताएका छन्।
आफूले माया गरेर निर्माण गरेको पार्टीप्रति सधैँ स्नेह रहने र बाहिरबाटै पार्टीका गतिविधि नियाल्दै सुझाव तथा सल्लाह दिइरहने प्रतिबद्धता समेत उनले जनाएका छन्।
आफू व्यवसायी भएको र परिस्थितिका कारण राजनीतिमा सक्रिय भएको बताउँदै अब पुनः व्यवसायमै केन्द्रित हुने उनले उल्लेख गरेका छन्।
देशभर रास्वपाको प्रभाव बढिरहेका बेला पार्टीका संस्थापक तहका नेताले नै राजीनामा दिएपछि रुपन्देहीको स्थानीय राजनीतिमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टीभित्र उनी इमानदार कार्यकर्ता र जिम्मेवारी समयमै पूरा गर्ने नेताका रूपमा परिचित रहेका छन्। उनको निर्णय फिर्ता लिन धेरैले आग्रह पनि गरिरहेका छन्।

