
पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ। बुधबार साँझ करिब ७ बजेर ८ मिनेटमा भएको घटनामा एक युवकले धारिलो हतियार प्रयोग गरी महिलामाथि आक्रमण गरेको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार पोखरा–८ स्थित सभागृहचोकदेखि शिवालयचोकतर्फ जाने गल्लीको दायाँपट्टि सडकपेटीमा उभिरहेकी महिलामाथि पछाडिबाट टाउकोमा प्रहार गरिएको थियो। आक्रमणपछि ती युवक मोटरसाइकल वा स्कुटर चढेर घटनास्थलबाट फरार भएको जनाइएको छ।
मृत्यु हुनेमा पोखरा–५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल केसी रहेको प्रहरीले जनाएको छ। एक प्रत्यक्षदर्शीले महिलामाथि एक्कासि आक्रमण भएको र प्रहारपछि उनी चिच्याउँदै ढलेको बताएका छन्।
घटनापछि प्रहरी टोलीले घटनास्थललाई घेराबन्दी गरी आवश्यक विवरण संकलन गरिरहेको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको जानकारी दिए।
पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्रमा भएको यस घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। घटनास्थलमा अहिले ठूलो संख्यामा मानिसहरूको भिड लागेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
