
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद विपीन आचार्यले प्रतिनिधिसभा बैठक सञ्चालनका तौरतरिका अत्यन्तै कर्मकाण्डी र पुरानो शैलीमा आधारित भएको टिप्पणी गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षबीचको मनोवैज्ञानिक कित्ताबन्दीका कारण कुनै पनि विषयलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने अभ्यास कमजोर बनेको बताए।
उनका अनुसार संसद्मा जुनसुकै सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षले स्वाभाविक रूपमा विरोध गर्ने र सत्तापक्षले सबै संशोधन अस्वीकार गर्ने प्रवृत्ति स्थापित भएको छ, जसले संसदीय बहसलाई यान्त्रिक बनाइरहेको छ।
आचार्यले भने, “प्रतिपक्षले एउटै थेगो दोहोर्याउँछ—नीति तथा कार्यक्रम कर्मकाण्डी भयो। तर राम्रो कुरा पनि राम्रो भन्न नसक्ने अवस्था किन बन्यो?”
उनले सत्तापक्षको व्यवहार पनि उस्तै रहेको उल्लेख गर्दै प्रतिपक्षका संशोधनहरूलाई गम्भीर छलफल बिना नै अस्वीकार गर्ने परिपाटीले संसदीय अभ्यास कमजोर बनाएको टिप्पणी गरे।
उनका अनुसार सरकारको दस्तावेज ‘बिग्रिन्छ’ भन्ने गलत मानसिकता स्थापित भएको छ, जसलाई अब तोड्न आवश्यक छ।
आचार्यले सरकार निर्माण, विश्वासको मत र बजेट जस्ता प्राविधिक विषयमा मात्र दलगत ह्विप आवश्यक हुने तर कानुन निर्माण र जनजीविकासम्बन्धी विषयमा गुण र दोषका आधारमा निर्णय गर्नुपर्ने सुझाव दिए।
उनले प्रविधिको न्यूनतम प्रयोगसमेत संसद्मा नभएको भन्दै आलोचना गरे। ई–भोटिङ जस्ता प्रणाली अपनाएमा केही मिनेटमै सकिने काम घण्टौँ लगाएर गरिने अवस्था विडम्बनापूर्ण भएको उनको भनाइ थियो।
उनले थप भने, “आज एआईको युगमा बाहिर डिजिटलाइजेसनको भाषण गर्छौं, तर संसद्भित्र अझै पुरानै शैली छ। ननिदाई बस्ने सांसदलाई यहाँ सम्मान गर्नुपर्ने अवस्था छ।”
उनले सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन, ट्र्याकिङ प्रणाली र जवाफदेहितालाई प्रविधिमार्फत व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिए। बायोमेट्रिक र पब्लिक टाइम–ट्र्याकिङ प्रणालीमार्फत सांसदको सक्रियता मापन गर्न सकिने उनको प्रस्ताव थियो।
आचार्यले नियमावलीमा अस्पष्टता राख्ने ‘ग्रे जोन’ हटाउनुपर्नेमा जोड दिँदै ‘सक्नेछ’ वा ‘तजबिजमा भर पर्नेछ’ जस्ता शब्दहरूले प्रणालीलाई कमजोर बनाउने बताए।
उनका अनुसार संसद् व्यक्तिमुखी नभई विधिमा आधारित हुनुपर्छ र नियम उल्लंघनलाई संसद् अवहेलनाका रूपमा कडा रूपमा लिनुपर्छ।
अन्त्यमा उनले संसद्लाई केवल सत्ता र प्रतिपक्षको कित्तामा होइन, गुण र दोषका आधारमा निर्णय गर्ने आधुनिक, प्रविधिमैत्री र उत्तरदायी संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
