
समस्याग्रस्त सहकारी संस्थामा फसेका साना बचतकर्तामध्ये ३७८ जनाले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीन वटा सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गरेको हो।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५ जना, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
समितिले पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको र आगामी दिनमा क्रमशः वर्गीकरणका आधारमा अन्य बचतकर्तालाई पनि भुक्तानी गरिने जनाएको छ।
समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने अवस्था रहेको समितिले जानकारी दिएको छ।
समितिका अनुसार बचतकर्तालाई दुई वर्गमा विभाजन गरिएको छ। पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।
कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सहकारीको ऋण असुली कार्यलाई तीव्र बनाइँदै बचत फिर्ता प्रक्रिया अघि बढाइएको बताएकी छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
