
भारतका प्रधानन्यायाधीश सूर्यकान्त को एक विवादास्पद अभिव्यक्तिपछि सुरु भएको सामाजिक सञ्जाल अभियान अहिले भारतभर चर्चाको विषय बनेको छ।
प्रधानन्यायाधीश सूर्यकान्तले एक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई “कक्रोच” अर्थात् साङ्लासँग तुलना गरेपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको हो।
उनले भनेका थिए, “केही युवा कक्रोचजस्तै हुन्छन्। जागिर नपाएपछि उनीहरू मिडिया, सामाजिक सञ्जाल वा आरटीआई अभियन्ता बनेर प्रणालीमाथि आक्रमण गर्न थाल्छन्।”
उनको यही टिप्पणीपछि सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियान सुरु भयो। केही दिनमै उक्त अभियान ‘कक्रोच जनता पार्टी’ अर्थात् सीजेपीको रूपमा संगठित भयो।
‘कक्रोच जनता पार्टी’ गठन भएको पाँच दिनमै सामाजिक सञ्जालमा लाखौं फलोअर्स जुटेका छन्।
पार्टीको इन्स्टाग्राममा १ करोडभन्दा बढी र ट्विटरमा करिब १ लाख ६० हजार फलोअर्स पुगेका छन्। भारतीय जनता पार्टीको इन्स्टाग्राममा ८७ लाख र कांग्रेसको १ करोड ३२ लाख फलोअर्स रहेको सन्दर्भमा सीजेपीको तीव्र विस्तारलाई धेरैले चासोका रूपमा हेरेका छन्।
महाराष्ट्रका ३० वर्षीय अभिजीत दिपके ले यो पार्टी स्थापना गरेका हुन्। उनी अमेरिकाको बोस्टन विश्वविद्यालयमा जनसम्पर्क विषय अध्ययनरत विद्यार्थी हुन्।
पार्टीको नारा छ “धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी।”
सीजेपीले सदस्य बन्न चार अनौठा योग्यता पनि तोकेको छ।
- बेरोजगार हुनु
- धेरै सुत्ने अर्थात् अल्छी हुनु
- अनलाइनको लत हुनु
- रिस पोख्ने क्षमता हुनु
घोषणापत्रमा पाँच प्रतिबद्धता
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्रमुख प्रतिबद्धता उल्लेख गरिएको छ।
सीजेपीका अनुसार यदि पार्टी सत्तामा पुग्यो भने कुनै पनि प्रधानन्यायाधीशले अवकाशपछि राज्यसभामा नियुक्ति पाउने छैनन्। यसलाई उनीहरूले पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोई राज्यसभा सदस्य बनेको घटनासँग जोडेर व्याख्या गरेका छन्।
यस्तै, महिलाका लागि संसद् र मन्त्रिपरिषद्मा ५० प्रतिशत आरक्षण हुनुपर्ने माग पार्टीले उठाएको छ।
पार्टीले उद्योगपति मुकेश अम्बानी र गौतम अदानी समूहसँग जोडिएका मिडियाको लाइसेन्स खारेज गर्नुपर्ने माग पनि अघि सारेको छ।
घोषणापत्रमा दल परिवर्तन गर्ने सांसद वा विधायकलाई २० वर्षसम्म चुनाव लड्न नदिने प्रस्तावसमेत राखिएको छ।
सीजेपीले आफूलाई “युवाहरूले बनाएको युवाहरूको राजनीतिक मञ्च” को रूपमा प्रस्तुत गरेको छ।
पार्टीका संस्थापक दिपकेले वर्तमान व्यवस्थाबाट निराश युवाहरूको आवाज बन्ने दाबी गरेका छन्।
उनले नेपाल र बंगलादेशका जेन–जी आन्दोलनसँग तुलना नगर्न आग्रह गर्दै भारतका युवा “राजनीतिक रूपमा सचेत र लोकतान्त्रिक अभ्यासप्रति जानकार” रहेको बताएका छन्।
उनका अनुसार यो अभियान व्यंग्य मात्रै नभएर अहिलेको राजनीतिक र सामाजिक व्यवस्थाप्रतिको युवापुस्ताको असन्तुष्टिको प्रतीक बनेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
