
सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि बिहीबार जारी गरेको दरखास्त आह्वानसम्बन्धी सूचना एक दिनमै रद्द गरेको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यसअघि ७ जेठमा प्रकाशित दरखास्त आह्वान रद्द गरिएको जनाएको हो।
मन्त्रालयले ‘विशेष कारणवश’ सूचना रद्द गरिएको उल्लेख गरे पनि यसको स्पष्ट कारण भने खुलाएको छैन।
बिहीबार प्रकाशित सूचनामा सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीमार्फत एक जना उम्मेदवार छनोट गरी नियुक्ति गरिने उल्लेख गरिएको थियो। इच्छुक योग्य व्यक्तिलाई २०८३/०२/१५ गते (सोमबार) कार्यालय समयभित्र दरखास्त पेस गर्न आह्वान गरिएको थियो।
तर एक दिन नबित्दै शुक्रबार मन्त्रालयले सोही सूचना रद्द गरेको जनाएको छ।
मन्त्रालयले जारी गरेको पछिल्लो सूचनामा भनिएको छ, “सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि प्रकाशित गरिएको दरखास्त आह्वान सूचना विशेष कारणवश रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।”
सूचना किन रद्द गरियो भन्नेबारे मन्त्रालयले कुनै थप विवरण सार्वजनिक नगरेको हुँदा निर्णयप्रति चासो बढेको छ।

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
