
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले चालक अनुमतिपत्रका लागि एसएलसी वा एसईई उत्तीर्ण हुनुपर्ने कानुनी व्यवस्थामाथि प्रश्न उठाएका छन्।
शुक्रबार पूर्वसांसद् मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले एसईई पास नगरेका नागरिकलाई पनि श्रम गरेर परिवार पाल्ने अधिकार हुनुपर्ने बताएका हुन्।
उनले ‘ड्राइभिङ लाइसेन्स’ लिएर जीविकोपार्जन गर्न चाहने युवामाथि अनावश्यक बन्देज लगाइएको टिप्पणी गरे।
अर्यालले भने, “एउटा नागरिकले लाइसेन्स लिएर परिवार पाल्छु भन्दा पनि तैंले एसएलसी पास गर्नुपर्छ भन्ने व्यवस्था किन बनाइयो?”
उनका अनुसार मुलुकको सामाजिक अवस्था, शिक्षा प्रणाली र नागरिकको वास्तविक जीवनसँग मेल खाने गरी कानुन निर्माण हुनुपर्ने आवश्यकता छ।
सभामुख अर्यालले अहिलेका केही कानुन व्यवहारिकभन्दा पनि नागरिकमाथि जबर्जस्ती थोपारिएको जस्तो देखिएको बताए। आवश्यकताका आधारमा नागरिकमैत्री र व्यवहारिक कानुन बनाउनुपर्नेमा उनले जोड दिए।
उनले चालक अनुमतिपत्र लिन तोकिएको उमेर हदप्रति पनि असन्तुष्टि जनाए। अहिले दुई पाङ्ग्रे सवारीका लागि १८ वर्ष र चार पाङ्ग्रे सवारीका लागि २१ वर्ष उमेर आवश्यक पर्ने व्यवस्था रहेको छ।
अर्यालले दुई पाङ्ग्रे सवारीभन्दा चार पाङ्ग्रे चलाउन सजिलो हुने भए पनि सजिलो सवारीका लागि बढी उमेर तोकिनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।
उनले भने, “कानुनले पहिला असुरक्षित दुई पाङ्ग्रे चलाऊ, त्यसपछि सुरक्षित चार पाङ्ग्रे चलाऊ भनेजस्तो देखिएको छ।”
सभामुख अर्यालले लिखित परीक्षामा अनुत्तीर्ण भएपछि पुनः परीक्षा दिन ९० दिन कुर्नुपर्ने व्यवस्थामाथि पनि प्रश्न उठाए।
उनले प्रयोगात्मक परीक्षामा असफल भए भोलिपल्टै ट्रायल दिन पाइने तर लिखित परीक्षाका लागि तीन महिना कुर्नुपर्ने व्यवस्थाको औचित्यबारे स्पष्ट हुनुपर्ने बताए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
