
काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा अबदेखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने भएको छ। यात्रुको सामान सुरक्षित राख्ने, झोला हराउने तथा साटिने समस्या रोक्ने उद्देश्यसहित यो व्यवस्था सुरु गर्न लागिएको हो।
यसका लागि शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग लगाइनेछ। यात्रुलाई दिइने ट्याग नम्बर र बसमा राखिएको सामानको नम्बर मिलाएपछि मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ।
ट्राफिक प्रहरीका अनुसार सार्वजनिक सवारीमा झोला हराउने, चोरी हुने तथा साटिने गुनासो बढ्दै गएपछि यस्तो प्रणाली लागू गर्न लागिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर यो प्रणाली सुरु गर्न लागिएको बताए।
उनले सार्वजनिक सवारीमा हुने चोरी, लगेज हराउने तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न ट्याग प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई सेवामा जस्तै अब बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली लागू गर्न लागिएको बताए।
उनका अनुसार यात्रुको झोला हराउने वा गलत व्यक्तिले लैजाने समस्या लामो समयदेखि चुनौती बन्दै आएको थियो। नयाँ प्रणालीपछि यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।
यातायात व्यवसायीहरूले विशेष गरी चाडपर्व, भीडभाड र रात्रीकालीन यात्राका बेला सामान हराउने गुनासो बढी आउने गरेको बताएका छन्। कतिपय अवस्थामा सार्वजनिक सवारीसाधन अवैध वस्तु ओसारपसारका लागि समेत प्रयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए।
नयाँ व्यवस्थाअनुसार बस काउन्टरबाट यात्रुको लगेजमा नम्बर वा कोडसहितको ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ र गन्तव्यमा पुगेपछि ट्याग मिलाएर मात्रै सामान हस्तान्तरण गरिनेछ।
ट्राफिक प्रहरीले आगामी दिनमा डिजिटल प्रणालीसमेत जोड्ने योजना रहेको जनाएको छ। आवश्यक परे क्युआर कोड र डिजिटल रेकर्ड प्रणाली पनि लागू गर्न सकिने बताइएको छ।
यसैबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ पनि सुरु गरेको जनाएको छ। वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको हो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
