
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपांगतामैत्री सेवा विस्तार गर्न र कर्मचारीलाई अतिरिक्त कामका लागि उचित पारिश्रमिक दिनुपर्ने नयाँ निर्देशन जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई अपांगतामैत्री सेवा विस्तार गर्न र कर्मचारीलाई अतिरिक्त कामका लागि उचित पारिश्रमिक दिनुपर्ने नयाँ निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन तथा परिमार्जन गर्दै प्रत्येक स्थानीय तहमा कम्तीमा एक बैंक शाखा अपांगतामैत्री बनाउनुपर्ने व्यवस्था गरेको हो ।
निर्देशनअनुसार ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा साक्षर नभएका ग्राहकलाई विशेष प्राथमिकता दिँदै सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष काउण्टर तोक्नुपर्नेछ ।
यसैगरी बैंकहरूले आपसी सहकार्यमार्फत प्रत्येक स्थानीय तहमा कम्तीमा एक अपांगमैत्री शाखा सञ्चालन गर्नुपर्नेछ । त्यस्ता शाखाको विवरण अनिवार्य रूपमा आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।
राष्ट्र बैंकले एटीएम सेवामा पनि अपांगमैत्री व्यवस्था अनिवार्य गरेको छ । अब एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन, कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एक एटीएम राख्नुपर्नेछ । यसको विवरण पनि वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरूले आफू सक्षम रहेको स्वघोषणा गरेमा एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा स्वतः प्रयोग गर्न पाउने व्यवस्था लागू हुनेछ । बैंकहरूले आफ्ना वेबसाइट र मोबाइल एपहरू दृष्टिविहीनमैत्री हुने गरी विकास गर्नुपर्नेछ ।
डिजिटल बैंकिङ सेवामा थप सुधार गर्दै डेबिट र क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचर राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
राष्ट्र बैंकले यसअघि रहेको सरल बैंकिङसम्बन्धी व्यवस्था परिमार्जन गर्दै अपांगता भएका तथा विशेष आवश्यकताका ग्राहकलाई अझ सहज सेवा दिनुपर्ने स्पष्ट निर्देशन दिएको हो ।
यसअघि केही स्थानमा मात्रै लागू भएको अपांगमैत्री शाखा र एटीएम व्यवस्था अब सबै स्थानीय तहमा विस्तार गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अतिरिक्त समयमा काममा लगाउँदा प्रचलित कानुनअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
निर्देशनमा कार्यालय समयबाहेक कर्मचारीलाई जबर्जस्ती काममा लगाउन नपाइने उल्लेख गर्दै श्रम अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
