
तिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डिपी) अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । विपक्षी दलहरूले संसदमा आफ्नो आवाज नसुनिएको र सरकारले संसदलाई बेवास्ता गरेको आरोप लगाउँदै दुवैविरुद्ध मोर्चाबन्दीमा उत्रिएका हुन् ।
आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी चार दलको बैठकले प्रधानमन्त्री र सभामुखको भूमिकालाई लिएर असन्तुष्टि जनाएको हो । बैठकले प्रधानमन्त्रीले संसदलाई पटकपटक अवमूल्यन गरेको तथा सभामुखले विधि, प्रक्रिया र संसदीय अभ्यास विपरीत काम गरेको निष्कर्ष निकालेको जनाएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी काँग्रेसकी प्रमुख सचेतक बासना थापा, एमाले प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई भने बैठकमा अनुपस्थित रहे ।
छलफलपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदप्रति जवाफदेही नदेखिएको र सभामुख अर्यालले विपक्षीलाई दबाएर जबर्जस्ती संसद् सञ्चालन गरेको आरोप लगाए ।
उनका अनुसार नियमावलीअनुसार प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भए पनि त्यसो नगरेपछि विपक्षी दलहरूले ७ जेठको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए । तर, अवरोधकै बीच सभामुखले केही सरकारी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।
दुलालले अब १२ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा पनि यही विषयलाई लिएर विपक्षीले बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
उनले संसद् अवरुद्ध भएको अवस्थामा सभामुखले सरकार र विपक्षीबीच संवादको वातावरण बनाउनुपर्नेमा त्यसतर्फ कुनै पहल नगरेको आरोप लगाए ।
“हामीले नियमावलीअनुसार प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन रुलिङ माग गरेका थियौँ । तर सभामुखले सरकारलाई जवाफदेही बनाउनुभन्दा विपक्षीलाई पेलेर बैठक सञ्चालन गर्नुभयो,” दुलालले बताएका छन् ।
उनले सभामुखले निष्पक्ष समन्वयकारी भूमिका खेल्नुपर्नेमा सरकारको पक्षमा उभिएको आरोप पनि लगाए ।
यसैबीच विपक्षी दलहरूले ७ जेठको बैठक स्थगित भएपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न गएको विषयमा पनि स्पष्ट जवाफ मागेका छन् ।
प्रधानमन्त्रीसँग भेट भएको हो भने प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने वा नहुने विषयमा के छलफल भयो भन्ने जानकारी संसदलाई दिनुपर्ने विपक्षीको माग छ ।
संसद् सञ्चालन, प्रधानमन्त्रीको अनुपस्थिति र सभामुखको भूमिकालाई लिएर सत्ता र विपक्षीबीचको विवाद अहिले थप चर्किएको देखिएको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
