
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्व बजारबाट अधिकतम लाभ लिन चाहेको बताएका छन्। उनले नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौंमा रहेका अन्य मुलुकका राजदूतहरूसँग संयुक्त भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको आवश्यकता र सरकारलाई प्राप्त जनादेशप्रति आफूहरू पूर्ण रूपमा सचेत रहेको बताए।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गरे। उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट सन्देश पनि दिए।
प्रधानमन्त्री शाहले भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नीति स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य र राजनीतिक स्थिरता कायम गर्न प्रतिबद्ध छौँ।”
उनले सुशासन, समावेशी आर्थिक वृद्धि र जनताका लागि नयाँ अवसर सिर्जनामा सरकार केन्द्रित रहेको बताए। साथै, विश्व बजारबाट लाभ लिन, लगानी आकर्षित गर्न प्रक्रिया सहज बनाउने र नवप्रवर्तन तथा दिगो विकासलाई प्रोत्साहन गर्ने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गर्ने दोहोर्याए। “हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित छ,” उनले भने।
उनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गरे। साथै, व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रहरूमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको बताए।
भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वले सर्वसाधारण नागरिक बढी प्रभावित भइरहेको उल्लेख गर्दै शान्तिका लागि संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उक्त भेटमा ईयू र अन्य मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले नयाँ सरकारलाई बधाई दिँदै आर्थिक वृद्धि, सुशासन र समृद्धिका लागि नेपालसँग सहकार्य र लगानी गर्न इच्छुक रहेको बताएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
