२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ‘ग्रे लिस्ट’बाट हटाउने दबाब बढिरहेका बेला सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता बढाएको छ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले भ्रष्टाचारबाट आर्जन गरिएको ठहर भएका विभिन्न व्यक्तिका घरजग्गा जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया तीव्र बनाएको हो।

विभागले हालै नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष स्वर्गीय रामाज्ञा चतुर्वेदीको पर्सास्थित जग्गा जफत गरेको छ। रामगढवा र बहुअर्वाभाडा क्षेत्रमा रहेको करिब एक हजार सात सय वर्गमिटर जग्गा विभागले आफ्नो नाममा ल्याएको हो। यसअघि उनको पेप्सीकोलास्थित दुई रोपनी ११ आना जग्गा पनि जफत भइसकेको थियो।

सर्वोच्च अदालतले २०६८ साल भदौ २१ गते भ्रष्टाचारबाट सम्पत्ति आर्जन गरेको ठहर गर्दै उक्त सम्पत्ति जफत गर्न आदेश दिएको थियो।

त्यस्तै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वकर्मचारी केशरजंग खड्काको महोत्तरीस्थित दुई कट्ठा १० धुर जग्गा पनि विभागले जफत गरेको छ। यसअघि कोटेश्वरस्थित दुई रोपनी तीन आना जग्गा पनि विभागको नाममा आइसकेको थियो।

पूर्वनासु केदारनाथ ढुंगानाकी पत्नी सरस्वती ढुंगानाको नाममा रहेको चितवन भरतपुरस्थित घरजग्गा पनि सरकारको नाममा आएको छ। ढुंगाना परिवारको ललितपुरस्थित एक रोपनी जग्गा भने गत वर्ष नै जफत भइसकेको थियो।

यस्तै पूर्वउपसचिव मुरारीबहादुर कार्कीको सिनामंगलस्थित घरजग्गा जफत गर्ने प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ। कार्कीले सम्पत्तिको मूल्य बराबर रकम बुझाएर सम्पत्ति फिर्ता पाउन माग गर्दै रिट दायर गरेका थिए।

पूर्वसहसचिव आमोदानन्द मिश्रको लाजिम्पाटस्थित घरजग्गा जफत प्रक्रिया पनि अदालतमा अड्किएको छ। सर्वोच्चले २०७७ फागुन २ गते उक्त सम्पत्ति जफत गर्न आदेश दिए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचारबाट आर्जित भनिएको डेढ रोपनी जग्गा पनि फैसलाको १४ वर्षपछि मात्रै गत वैशाखमा जफत गरिएको थियो। थप सम्पत्तिको मूल्यांकन विवादका कारण अन्य सम्पत्ति भने अझै जफत हुन सकेको छैन।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षमा मात्रै ११ रोपनी ९ आना जग्गा सरकारको नाममा ल्याइएको छ। विभाग स्थापना भएदेखि गत वर्षसम्म भने ९ रोपनी ७ आना जग्गा जफत गरिएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय