२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रपति रामचन्द्र पौडेलले केवल राजनीतिक व्यवस्था परिवर्तनले मात्रै देश र जनताको अपेक्षा पूरा नहुने बताएका छन् । उनले गणतन्त्रलाई बलियो बनाउन राजनीति, राज्यसत्ता र नेतृत्वको चरित्रसमेत बदलिनुपर्ने बताएका हुन् ।

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई व्यवहारमा प्रमाणित गर्न राजनीतिक निष्ठा, आचरण र मूल्यमान्यतामा परिवर्तन आवश्यक रहेको बताए ।

उनले गणतन्त्रको मर्यादा जोगाउन सबै राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले भने, “राजनीतिक व्यवस्था परिवर्तन मात्रै पर्याप्त हुँदैन । राज्यसत्ताको चरित्र, राजनीतिक संस्कार र आचरणमा पनि सुधार आउनुपर्छ । अन्यथा राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुँदैन ।”

उनले सामाजिक न्याय, विकास र समृद्धिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्यका रूपमा अघि बढाउनुपर्ने बताए । राजनीति र शासनलाई नैतिकता, निष्ठा र जिम्मेवारीको सीमाभित्र राख्न सके मात्रै जनताको विश्वास कायम रहने उनको भनाइ थियो ।

राष्ट्रपतिले भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता र बेथितिलाई गणतन्त्रका प्रमुख सत्रुका रूपमा चित्रण गरे । यस्ता विकृतिले नागरिकलाई निराश बनाउने खतरा रहेको भन्दै उनले सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

उनले जनताले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्नुपर्ने बताए । आर्थिक विकास र समृद्धिलाई नागरिकको दैनिक जीवनसँग जोड्न नसके राजनीतिक उपलब्धि कमजोर बन्ने उनको धारणा थियो ।

राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अघि बढाएको पनि बताए । उनले शासकीय सुधारका कार्यसूची कार्यान्वयन हुँदै गए जनतामा आशा र विश्वास बढ्ने उल्लेख गरे ।

उनले राजनीति, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थालाई थप लोकतान्त्रिक, निष्पक्ष, प्रभावकारी र उत्तरदायी बनाउन ढिला गर्न नहुने बताए ।

“हाम्रा राजनीतिक दल, सरकार र नेतृत्व जनउत्तरदायी, चरित्रवान र आचरणशील हुनुपर्छ,” राष्ट्रपति पौडेलले भने, “सुशासनको अनुभूति नागरिकले प्रत्यक्ष रूपमा गर्न पाउनुपर्छ ।”

राष्ट्रपतिले स्थानीय र प्रदेश सरकारमार्फत संविधानअनुसार जनताको घरदैलोमै लोकतान्त्रिक अभ्यास भइरहेको उल्लेख गरे । जनताको गुनासो राज्य संयन्त्रमार्फत समाधान गर्ने अभ्यासले लोकतन्त्रको जग थप बलियो बनाउने उनको विश्वास थियो ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय