
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न राखेको प्रस्ताव विपक्षी दलहरूले अस्वीकार गरेका छन्। यससँगै प्रतिनिधिसभा बैठकमा जारी अवरोध यथावत रहने भएको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सत्ता पक्षको प्रस्तावमा सहमति जनाएनन्।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सभापति लामिछानेले संसद्मा जारी अवरोध हटाएर अघि बढ्न विपक्षी दलहरूसमक्ष आग्रह गरेका थिए।
उनका अनुसार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय वा परराष्ट्रमन्त्रीले आवश्यक विषयमा प्रष्टीकरण दिन सक्ने प्रस्ताव पनि बैठकमा राखिएको थियो। आवश्यक परे उक्त विषय संसद्मै राख्न सकिने धारणा सभापति लामिछानेले व्यक्त गरेका थिए।
भारत भ्रमण तथा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिका विषयमा सभापति लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पार्ने प्रस्ताव राखे पनि विपक्षी दलहरू त्यसमा सहमत भएनन्।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसको प्रमाण प्रस्तुत गर्न वा संसद्को अभिलेखबाट उक्त भनाइ हटाउन माग गर्दै आएका छन्।
यसै विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध जारी छ। सोमबारको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध कायम राखेका छन्।
यसअघि बसेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीबाहेक अन्य विपक्षी दलहरूको सहभागिता रहेको थियो। बैठकमा संसद्को अवरोध अन्त्य गर्ने विषयमा छलफल भए पनि सहमति भने जुट्न सकेन।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
