
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री शाहले गुरुङलाई गृहमन्त्रीमा नियुक्त गरेका हुन्।
गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए। छानबिन प्रक्रिया सम्पन्न भएपछि उनी पुनः मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्।
यस्तै, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिएका छन्। नवगठित मन्त्रालयको पहिलो मन्त्रीका रूपमा पुन नियुक्त भएका हुन्।
बालुवाटार स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले आजै अपराह्न ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
गुरुङमाथि सम्पत्ति शुद्धीकरण तथा गैरकानुनी सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनी गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनीमाथि व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको तथा सम्पत्ति विवरणमा उल्लेख गरिएका घरजग्गा, सुन र सेयरको स्रोतबारे प्रश्न उठेको थियो।
आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिनका लागि भन्दै उनले मन्त्री बनेको २६ दिनमै पद त्यागेका थिए। गुरुङ पहिलोपटक १३ चैतमा गृहमन्त्री नियुक्त भएका थिए।
सरकारले २८ वैशाखमा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए।
समितिले केही दिनअघि प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले गुरुङमाथि लागेको आरोप पुष्टि नहुने निष्कर्ष निकालेपछि उनको पुनर्नियुक्तिको बाटो खुलेको हो।
केही दिनअघि रास्वपा गोरखाको जिल्ला सम्मेलनमा बोल्दै गुरुङले आफू छानबिनबाट सफाइ पाएर पुनः गृहमन्त्री बने दुई महिनासम्म भेट्न र तस्बिर खिचाउन नआउन आग्रह गरेका थिए। त्यसयता उनी पुनः मन्त्री बन्ने चर्चा चलिरहेको थियो।
नयाँ मन्त्रालयको पहिलो मन्त्री बने महावीर पुन
स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शाहले स्थापना गरेको नयाँ मन्त्रालयको पहिलो नेतृत्व पुनले सम्हाल्ने भएका हुन्।
यसअघि पुन सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा थिए। त्यसपछि उनले पदबाट राजीनामा दिएर २१ फागुनको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो।
मन्त्रिपरिषद्ले गत ३० वैशाखमा विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै नयाँ मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
