२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ।

आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा परेका पदाधिकारीहरूले विवरण संकलनका क्रममा समय अपुग भएको भन्दै पटक–पटक अनुरोध गरेपछि एक महिनाका लागि अन्तिम पटक म्याद थप गरिएको जनाएको छ।

आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका सम्बन्धित व्यक्तिहरूले विवरण संकलनमै रहेको र समय पर्याप्त नभएको भन्दै म्याद थप गर्न आग्रह गरेका थिए। सोही आधारमा असार मसान्तसम्म अन्तिम अवसर दिइएको हो।

उनले भने, “यो अन्तिम पटकका लागि हो, अब म्याद थप हुँदैन। थपिएको समयभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्छ।”

जेनजी आन्दोलनका क्रममा केही कार्यालयमा आगजनी हुँदा विवरण संकलनमा समस्या आएको हुनसक्ने अनुमान आयोगले गरेको छ।

आयोगले हालसम्म करिब तीन हजार पाँच सयभन्दा बढी व्यक्तिको सम्पत्ति विवरण प्राप्त भइसकेको जनाएको छ। साथै ६० भन्दा बढी उजुरी पनि दर्ता भएका छन्।

आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका व्यक्तिहरूलाई आफैं वा प्रतिनिधि, हुलाक वा इमेलमार्फत विवरण बुझाउन सकिने व्यवस्था गरिएको जनाएको छ।

२०४८ सालदेखि २०८३ सालसम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पदीय दुरुपयोग गरेर अस्वाभाविक सम्पत्ति आर्जन गरेको आशंका भए उजुरी दिन पनि आयोगले आग्रह गरेको छ।

आयोगले मुलुकमा प्रजातन्त्र पुनःस्थापना पछिका करिब ३५ वर्षलाई दुई चरणमा विभाजन गरी छानबिन प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ।

आयोग परिसरमा पछिल्ला दिनमा विवरण बुझाउन आउने पूर्वकर्मचारीहरूको चाप बढ्दै गएको छ। विवरण बुझाउने प्रक्रिया सहज भएको प्रतिक्रिया पनि उनीहरूले दिएका छन्।

आयोगका अनुसार मन्त्रालयगत डेस्कको व्यवस्था गरिएकाले विवरण बुझाउने प्रक्रिया सरल बनेको छ।

अध्यक्ष भण्डारीले विवरण बुझाउने र उजुरी दिने क्रम बढ्दै गएको उल्लेख गर्दै ४० देखि ५० हजार व्यक्तिको विवरण संकलन हुने अपेक्षा गरिएको बताए।

आयोगले बहालवाला तथा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, विभिन्न सार्वजनिक संस्थानका प्रमुख, विश्वविद्यालयका अधिकारी, कूटनीतिक निकायका कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको जनाएको छ।

आयोगको कार्यादेशअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरू तथा उनीहरूका परिवारको स्वदेश तथा विदेशमा रहेको सम्पत्तिबारे छानबिन गरी प्रतिवेदन बुझाइनेछ।

आयोगमा अध्यक्ष भण्डारीसहित चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, प्रवक्ता गणेश केसी र सदस्य प्रकाश लम्साल रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय