
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमार क्षेत्रमा फास्ट ट्र्याक परियोजनामा प्रयोग भइरहेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार राति भित्री बाटो हुँदै माण्डु हाइड्रोपावरको सडकमार्फत इपा जाँदै गरेको बाप्र०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा फास्ट ट्र्याकमा कार्यरत बारा पचरौता–७ का २१ वर्षीय इञ्जिनियर सूर्य यादव र चालक सिन्धुली कमलामाई–९ भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी गम्भीर घाइते भएका थिए।
प्रहरी र नेपाली सेनाको टोलीले उनीहरूलाई घटनास्थलबाट उद्धार गरी हेटौँडा अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले बिहीबार बिहान दुवै जनालाई मृत घोषणा गरेका हुन्।
पछिल्लो समय कान्तिपथ तथा हेटौँडा–सिन्धुली सडकखण्डमा सवारी दुर्घटनाका घटना बढ्दै गएकाले प्रहरीले यात्रामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै रातिको समयमा सकेसम्म यात्रा नगर्न र सवारी सुरक्षामा ध्यान दिन पनि अनुरोध गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
