
कप्तान लियोनल मेसीको शानदार ह्याट्रिकसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। बुधबार अमेरिकाको कन्सास सिटीमा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा तीनै गोल मेसीले गरे। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। ह्याट्रिक पूरा गरेपछि मेसी मैदानबाट बाहिरिएका थिए।
यो खेलसँगै ३८ वर्षीय मेसीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। छैटौँ पटक विश्वकप खेलिरहेका मेसी प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा रहेको थियो।
मेसीका लागि यो विश्वकप करिअरको पहिलो ह्याट्रिक पनि हो। साथै उनले जर्मनीका पूर्व स्टार मिरोस्लाभ क्लोजको १६ विश्वकप गोलको कीर्तिमानी बराबरी गरेका छन्। अब उनले थप एक गोल गरे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुग्नेछन्।
यो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अंक जोडेको छ। अर्जेन्टिनाले अब आफ्नो दोस्रो खेलमा अस्ट्रियासँग र तेस्रो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।
यता, बुधबार नै भएको अर्को खेलमा केलिएन एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्यो। दुई गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या १४ पुगेको छ।
त्यसैगरी, एर्लिङ हाल्यान्डले दुई गोल गरेको खेलमा नर्वेले इराकलाई ४–१ ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
