
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि उठेका प्रश्नको मन्त्रीहरूले स्पष्टीकरण दिनेछन्।
त्यसैगरी रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका जिज्ञासाको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।
बैठकमा विभिन्न मन्त्रालयको बजेटमा सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरूलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सांसद मोहम्मद इस्तियाक राई, कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदा कुमारी बराल, जोगकुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, नीता घतानी र परशुराम तामाङले पेश गरेका प्रस्तावमाथि निर्णय हुने भएको छ।
यस्तै सांसद अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कंडेल र पद्माकुमारी अर्यालले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछन्।
सबै प्रक्रिया पूरा भएपछि विनियोजन विधेयक, २०८३ लाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
आजको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सम्बन्धी विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित हुने अपेक्षा गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
