
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको जनाएको छ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।
परीक्षामा सहभागी नियमित विद्यार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा अन्य २९० जना रहेका थिए।
यस वर्षको कक्षा १२ परीक्षा देशभर १ हजार ४२० परीक्षा केन्द्र तथा जापानमा १ केन्द्र गरी कुल १ हजार ४२१ केन्द्रबाट सञ्चालन गरिएको थियो।
परीक्षा बोर्डका अनुसार सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा १६१ वटा रहेका थिए। सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्डले निर्धारित समयभन्दा छिटो नतिजा प्रकाशन गर्दै परीक्षा व्यवस्थापन र मूल्यांकन प्रक्रिया समयमै सम्पन्न गरिएको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
