
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दै गर्दा जिल्लाभर उत्साहको माहोल देखिएको छ। पार्टीका नेता तथा कार्यकर्ताले चितवनलाई रास्वपाको ‘उद्गमस्थल’ र राजनीतिक आधारभूमिका रूपमा व्याख्या गर्दै आएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले लगातार तीनपटक चितवनबाट प्रतिनिधिसभा निर्वाचन जितेपछि पार्टी र चितवनबीचको सम्बन्ध अझ बलियो बनेको नेताहरूको भनाइ छ। यद्यपि चितवन लामिछानेको गृहजिल्ला होइन, तर निर्वाचन परिणाम र जनसमर्थनका आधारमा चितवन रास्वपाको प्रमुख आधार क्षेत्रका रूपमा स्थापित भएको उनीहरूको दाबी छ।
प्रवासमा रहेर पनि पार्टीका गतिविधिमा सक्रिय चितवन निवासी कृष्ण रेग्मीले चितवनलाई रास्वपाको उद्गम थलो मान्नुपर्ने बताए। उनका अनुसार विभिन्न घटनाक्रमका क्रममा चितवनवासीले सभापति लामिछानेप्रति देखाएको समर्थन र सहानुभूतिले पार्टीलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
लामिछाने हिरासतमा रहेका बेला चितवनवासी ठूलो संख्यामा सडकमा उत्रिएको र हिरासतमुक्त भएपछि नारायणी किनारमा आयोजित सभामा जनसागर उर्लिएको घटना पार्टी इतिहासकै महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यही जनसमर्थनले लामिछाने र चितवनबीचको सम्बन्ध थप गहिरो बनाएको नेताहरू बताउँछन्।
निर्वाचन परिणामले पनि चितवनमा रास्वपाको प्रभाव देखिएको उल्लेख गरिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका थिए।
त्यसपछि २०८० सालको उपनिर्वाचनमा लामिछानेले मत संख्या अझ बढाउँदै ५४ हजार २७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २५१ मतमा सीमित भएका थिए।
त्यस्तै, २०८२ सालको निर्वाचनमा पनि लामिछानेले आफ्नो लोकप्रियता कायम राख्दै ५४ हजार ४०२ मतसहित जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी थिइन्।
रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चितवनवासीले देखाएको माया, विश्वास र समर्थनकै कारण पार्टीको उद्गम थलो चितवनलाई मान्नुपर्ने बताए। उनका अनुसार लामिछानेले प्राप्त गरेको निरन्तर जनमतले पनि चितवन र रास्वपाबीचको सम्बन्ध स्पष्ट पार्छ।
निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषालले पनि चितवन रास्वपाको सबैभन्दा बलियो क्षेत्र बनेको बताए। पहिलो निर्वाचनमा दुई क्षेत्र जितेको रास्वपाले पछिल्ला निर्वाचनमा जिल्लाका तीनवटै क्षेत्र जित्न सफल भएको उल्लेख गर्दै उनले यसले चितवनलाई पार्टीको आधारभूमि सावित गरेको बताए।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले तदर्थ समितिबाट अघि बढेको पार्टी छोटो समयमै राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित हुनु दुर्लभ घटना भएको बताए। उनले महाधिवेशन उद्घाटन हुने स्थल पनि पार्टीका लागि विशेष महत्व बोकेको स्थान रहेको जानकारी दिए।
उनका अनुसार गत निर्वाचन अभियानका क्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेको स्थलमै पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन गरिने तयारी गरिएको छ।
२०७९ असार ७ गते स्थापना भएको रास्वपाले स्थापना दिवसकै अवसर पारेर यही असार ७ गतेदेखि चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सुरु गर्दैछ। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक तथा नेता–कार्यकर्ताको सहभागिता रहने पार्टीले जनाएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक भविष्य र आगामी राजनीतिक दिशासँग जोडेर हेरिएको छ। चितवनमा हुन लागेको यो महाधिवेशनलाई राजनीतिक वृत्तले समेत चासोका साथ नियालिरहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
