
प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै भोलिका लागि तय गरिएको बैठक अब असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने जनाएको छ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गर्दै बैठक नयाँ मितिमा सारिएको हो।
यसअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रतिनिधिसभाको बैठक ६ दिन पछाडि सारिएको थियो। तर चितवनमा जारी महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि संसद् बैठक पनि पुनः प्रभावित भएको छ।
रास्वपाको महाधिवेशन आइतबारदेखि भरतपुरमा जारी छ। प्रतिनिधि छनोट, बन्दसत्र र निर्वाचन प्रक्रियामा भएको ढिलाइका कारण महाधिवेशन लम्बिएको छ।
महाधिवेशन अझै जारी रहेकाले रास्वपाका सांसदहरू चितवनमै छन्। सत्तारुढ दलका अधिकांश सांसदसँगै मन्त्रिपरिषद्का सदस्यहरू पनि महाधिवेशनमा सहभागी भइरहेका छन्।
यही कारण संसद्को आवश्यक उपस्थिति र कार्यसूची व्यवस्थापनलाई ध्यानमा राख्दै प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि सारिएको जनाइएको छ। संसद् सचिवालयले नयाँ मितिमा बैठक बस्ने जानकारी दिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
