
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बिहीबार एक मिनेटको अन्तरमै दुई शक्तिशाली भूकम्प गएपछि सरकारले देशभर आपत्कालीन अवस्था घोषणा गरेको छ।
भूकम्पका कारण विभिन्न स्थानमा भवन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने नागरिकहरू ज्यान जोगाउन घरबाहिर निस्किएका छन्। प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार साँझ ६ः०४ बजे सान फेलिप नजिक ७.२ म्याग्निच्युडको गएको थियो। त्यसको करिब ४० सेकेन्डपछि युमारेको दक्षिणपूर्व क्षेत्रमा ७.५ म्याग्निच्युडको दोस्रो र अझ शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर आपत्कालीन अवस्था घोषणा गरिएको जानकारी दिएकी छन्। उनले भूकम्पबाट मानवीय क्षति भएको पुष्टि गरे पनि मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
भूकम्पपछि राजधानी कराकसलगायत विभिन्न क्षेत्रमा भवन, सडक र अन्य पूर्वाधारमा क्षति पुगेको जनाइएको छ। तटीय सहर क्याटिया ला मारमा केही भवन भत्किएका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
भूकम्पको धक्का महसुस गरेलगत्तै हजारौँ मानिस घर तथा भवनबाट बाहिर निस्किएर खुला स्थान र सडकमा जम्मा भएका थिए। धेरैले आफ्ना परिवारका सदस्य र घरपालुवा जनावरसहित सुरक्षित स्थानतर्फ आश्रय लिएका थिए।
अमेरिकी भूगर्भ सर्वेक्षणले ‘रेड अलर्ट’ जारी गर्दै ठूलो जनधनको क्षति र व्यापक विनाश हुन सक्ने चेतावनी दिएको छ। यस्तो प्रकृतिको विपद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उद्धार र राहत सहयोग आवश्यक पर्न सक्ने अनुमान गरिएको छ।
भूकम्पपछिको अवस्थालाई नियन्त्रणमा लिन सुरक्षा निकाय र उद्धारकर्मीहरू देशभर परिचालन गरिएका छन्। राजधानी कराकासको चाकाओ क्षेत्रमा मात्रै ५०० भन्दा बढी सुरक्षाकर्मी तथा उद्धारकर्मी खटाइएको बताइएको छ।
केही प्रभावित क्षेत्रमा ग्यास आपूर्ति बन्द गरिएको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ। कराकास अन्तर्राष्ट्रिय विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले जनाएका छन्।
यद्यपि अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै जोखिम नरहेको स्पष्ट पारेको छ। यसअघि जारी गरिएको प्युर्टो रिको, भर्जिन टापु लगायतका क्षेत्रका लागि सुनामी चेतावनी पनि फिर्ता लिइएको छ।
भूकम्प गएको दिन भेनेजुएलामा सन्त जोन द ब्याप्टिस्ट दिवस तथा स्पेनबाट स्वतन्त्रता प्राप्तिको सम्झनामा सार्वजनिक बिदा रहेकाले धेरै मानिस घर वा सार्वजनिक समारोहमा सहभागी रहेका बेला प्राकृतिक विपत्ति आएको जनाइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
