२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँको वार्षिक विकास कार्यक्रम (बजेट) सर्वसम्मतिले पारित गरेको छ।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको बजेट नगरसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

पारित बजेटअनुसार सङ्घीय सरकारबाट सशर्त अनुदानतर्फ दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख र समानिकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने भएको छ। यसरी सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत कुल तीन अर्ब १८ करोड ६० लाख रुपैयाँ योगदान रहनेछ।

गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र समानिकरण अनुदान आठ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने छ। प्रदेश सरकारबाट कुल नौ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुने महानगरले जनाएको छ।

यस्तै, राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट चार करोड ९ लाख ८६ हजार, स्थानीय सरकार राजस्व बाँडफाँटबाट एक अर्ब ३१ लाख १४ हजार तथा आन्तरिक स्रोतबाट दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसअनुसार महानगरको कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहनेछ।

महानगरले कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरेको छ।

नगरसभाले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा कार्यपालिकाबाट सिफारिस भएका अन्य विधेयक, संशोधन विधेयक, मापदण्ड र कानुनसमेत पारित गरेको छ।

नगरसभा सम्पन्न भएपछि महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नगरसभा सदस्यप्रति आभार व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय