२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ पेश गरिने र अन्त्यमा विधेयक पारित गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल, संशोधनमाथि निर्णय तथा विधेयक पारित गर्ने प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची छ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। विधेयकमाथिका संशोधनहरू निर्णयार्थ पेश गरिने र अन्त्यमा पारित गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश छ।

उता राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि समूहगत छलफल हुने संसद् सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ।

यसका साथै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका बजेटमाथि पनि सांसदहरूले धारणा राख्नेछन्।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विनियोजन शीर्षकहरूमाथि समेत छलफल गर्ने कार्यसूची तय गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय