
मोदी खोलामा आएको बाढीले सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्।
आइतबार आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार नजिक पक्की सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।
अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोला थुनिएपछि आएको बाढीका कारण मोदी खोलाको बहाव बढ्दा सडक बगाएको र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको जनाइएको छ।
सडक अवरुद्ध भएपछि घान्द्रुक घुम्न गएका पर्यटक त्यहीँ रोकिएका छन्। पैदल यात्रा गर्न समस्या नभए पनि सवारीसाधन लिएर पुगेका पर्यटक फर्किन नसकेको बताइएको छ।
घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिनको सार्वजनिक बिदामा घान्द्रुक पुगेका करिब ३०० जना पर्यटक अहिले सडक खुल्ने प्रतीक्षामा छन्।
उनले भने, ‘खोलाले सडक बगाएकाले अहिले गाडी चल्न सकेको छैन। अधिकांश पर्यटक आफ्नै सवारीसाधनमा आउनुभएको छ। साना सवारीका लागि वैकल्पिक सडकको खोजी गरिरहेका छौँ।’
गाउँपालिकाका अनुसार मोटरसाइकल र स्कुटरमा आएका पर्यटकलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडक प्रयोग गराउने तयारी गरिएको छ। त्यसका लागि उक्त सडकको मर्मत भइरहेको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले एबिसी पदयात्रा तथा घान्द्रुक भ्रमणमा गएका पर्यटक समस्यामा परेपछि स्थानीय प्रशासन र प्राविधिक टोली स्याउलीबजार पुगेको जानकारी दिए।
उनका अनुसार वैकल्पिक सडक सञ्चालन गर्ने वा सडक बगेको स्थानमा कम्तीमा एकतर्फी यातायात खुलाउने विषयमा प्रशासनसँग छलफल भइरहेको छ। हाल वर्षा कम भएको र नदीको बहाव पनि घट्दै गएकाले सडक सञ्चालनको सम्भावना अध्ययन भइरहेको उनले बताए।
घान्द्रुक अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी–पुनहिल पदयात्राको प्रमुख प्रवेशद्वारका रूपमा परिचित पर्यटकीय गन्तव्य हो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
