
लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण देशका ९ प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ। काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथमा पनि बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन स्थगित गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारी क्षेत्रमा पर्ने अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहे पनि जवाङखोलास्थित सडकखण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायम रहेको जनाएको छ। यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
