२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् । खानेपानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन समस्या भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढाका अनुसार लगातार नौ दिनसम्म खानेपानी नआउँदा बालबालिकालाई शौचालय प्रयोग गर्न तथा व्यक्तिगत सरसफाइ गर्नसमेत समस्या भएको छ । सदरमुकामजस्तो ठाउँमा लामो समयसम्म खानेपानीको समस्या हुँदा पनि सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको उहाँले गुनासो गर्नुभयो ।

खानेपानीको अभावमा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छायानाथ रारा नगरपालिका–९ की कक्षा ६ मा अध्ययनरत छात्रा विजय रोकायाले बताउनुभयो । उहाँले गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मर्मत तथा व्यवस्थापनको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनुभयो ।

गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लका अनुसार ताल्चामा गएको सुक्खा पहिरोले करिब ५० मिटर खानेपानीको पाइप बगाएपछि मर्मत कार्य भइरहेको छ । पाइप मर्मतमा समय लागेकाले सदरमुकाममा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।

खानेपानीको नियमित आपूर्ति नहुँदा बजारमा बसोबास गर्ने नागरिकसँगै बाहिरबाट सेवा लिन आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् । पानीको अभावले दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । होटल तथा चिया पसल सञ्चालन गर्ने व्यवसायी, विद्यार्थी, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खानेपानीको समस्या तत्काल समाधान गरी आपूर्ति सुचारु गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार मर्मत कार्य सकेर खानेपानी तत्काल सञ्चालन गर्न पहल भइरहेको छ ।

स्थानीयवासीले खानेपानी आपूर्ति तत्काल सुचारु गर्न, वितरण प्रणाली व्यवस्थित बनाउन तथा आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन योजना बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय