२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै सामाजिक सञ्जालमार्फत दैनिक भिडियो समाचार प्रसारण सुरु गरेको छ। पार्टीले शुक्रबारदेखि सुरु गरेको भिडियो बुलेटिनमा रास्वपाकी सांसद तथा केन्द्रीय सदस्य रीमा विश्वकर्मा समाचार प्रस्तोताको भूमिकामा देखिएकी छन्।

रास्वपाका अनुसार विपद्को समयमा नागरिकलाई सत्य, तथ्यपरक र पारदर्शी सूचना उपलब्ध गराउने तथा भ्रम निवारण गर्ने उद्देश्यले यस्तो ‘अपडेट बुलेटिन’ सुरु गरिएको हो। पहिलो बुलेटिनमा पछिल्लो समयको बाढीपहिरो तथा उद्धारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।

पहिलो बुलेटिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र बाढीपछि फसेका दुई प्राविधिक कर्मचारीको जीवितै उद्धार भएको घटनालाई प्रमुखताका साथ समेटिएको थियो। नेपाली सेनासहितको संयुक्त सुरक्षा टोलीले सञ्जय साह र कबिर महर्जनलाई जीवितै उद्धार गरेको विषयलाई बुलेटिनमा प्रस्तुत गरिएको थियो।

तर, सांसद स्वयं समाचार प्रस्तोताको भूमिकामा देखिएपछि यस विषयमा सार्वजनिक बहससमेत सुरु भएको छ।

पत्रकार दिवाकर शाहले रास्वपाको यस्तो अभ्यासप्रति टिप्पणी गर्दै सांसदको मुख्य जिम्मेवारी नीति निर्माण र संसद्मा जनताका विषय उठाउनु भएको बताएका छन्।

शाहले टिप्पणी गरेका छन्, “सांसदको काम नीति निर्माण गर्ने हो, स्टुडियोमा समाचार वाचक बनेर पार्टीको प्रचार गर्ने होइन।”


उनको टिप्पणीमा सांसद पदको संवैधानिक तथा राजनीतिक भूमिकासँगै समाचार प्रस्तुति र पार्टी प्रचारबीचको सीमाबारे प्रश्न उठाइएको छ। विशेषगरी कुनै राजनीतिक दलले आफ्नै सामाजिक सञ्जालमार्फत समाचार सामग्री उत्पादन र प्रसारण गर्दा त्यसको प्रस्तुति कति तटस्थ हुनुपर्छ भन्ने विषयमा समेत बहस हुन थालेको छ।

रास्वपाकी सांसद रीमा विश्वकर्मा यसअघि पनि सञ्चार तथा प्रस्तुति क्षेत्रसँग जोडिएकी थिइन्। संसद्मा प्रवेश गरेपछि उनले डेरामा बस्ने नागरिकले भोगिरहेको विभेद र समस्याका विषयसमेत प्रतिनिधिसभामा उठाएकी छन्।

यसबीच रास्वपाले पार्टीको सामाजिक सञ्जाललाई सूचना तथा गतिविधि सार्वजनिक गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएको छ। पार्टीले यसअघि सामाजिक संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोग गर्दा संयमता अपनाउन आफ्ना सदस्यहरूलाई निर्देशनसमेत दिएको थियो।

रास्वपाले सुरु गरेको दैनिक भिडियो बुलेटिनलाई कतिपयले नयाँ शैलीको राजनीतिक सञ्चारका रूपमा हेरेका छन् भने आलोचकहरूले सांसदलाई समाचार प्रस्तोताको भूमिकामा प्रयोग गर्दा पत्रकारिता र राजनीतिक प्रचारबीचको सीमा स्पष्ट हुनुपर्ने प्रश्न उठाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय