२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

विवाह गर्न नमानेको रिसमा एक युवाले आफ्नै प्रेमिकाको ज्यान लिएका छन्। काभ्रेपलाञ्चोक प्रहरीले रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारलाई प्रेमिकाको हत्या अभियोगमा सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै सुनारले ३३ वर्षीया शर्मिला उप्रेतीको योजनाबद्ध हत्या गरेको जनाएको हो। प्रहरी नायब उपरीक्षक (प्रनाउ) मिनबहादुर घलेका अनुसार, सुनार र उप्रेतीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। सुनारले पटकपटक विवाह प्रस्ताव राखे पनि उप्रेतीले अस्वीकार गर्दै आएकी थिइन्।

“विवाह गर्न नमानेपछि सन्तोषलाई शङ्का लाग्न थाल्यो, त्यसपछि उनले हत्या योजना बनाए,” प्रनाउ घलेले भने। उनका अनुसार, असार ३२ गते उप्रेतीलाई घुम्न जाने भन्दै बनेपा नगरपालिका–१३ स्थित भगवान् थुम्की सामुदायिक वनमा लगिएको थियो। त्यहीँ दाउराले हानेर उनलाई बेहोस पारिएको र त्यसपछि सलको पासो लगाई घाँटी कसेर हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या गरेपछि सन्तोष घटनास्थलमै झन्डै आधा घण्टा बसेर उप्रेतीको शव चिलाउनेको फेदीमा फ्यालेर फरार भएका थिए। उनलाई आइतबार साँझ बनेपा नगरपालिका–१० स्थित इँटाभट्टाबाट पक्राउ गरिएको हो।

शर्मिलाको पहिलो श्रीमानबाट १६ वर्षीया छोरी र दोस्रो श्रीमानबाट ९ वर्षीया अर्की छोरी छन्। पछिल्लो समय उनी दुबै श्रीमान्सँग अलग रहेर एक्लै बस्दै आएकी थिइन्। उनी र सन्तोषले सँगै मजदुरी गर्दै आएका थिए।

प्रेमिकाको हत्या अभियोगमा पक्राउ परेका सन्तोष सुनारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रनाउ घलेले जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय