
प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसद्लाई कार्यसम्पादनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे।
सभामुख अर्यालले नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई आत्मसात् गर्दै देशलाई समृद्ध बनाउने दिशामा संसदीय अभ्यासको महत्त्व रहेको बताए। जेनजी आन्दोलनले उठाएका मागअनुसार विकास र समृद्धिको बाटोमा अघि बढ्न नागरिकको अपेक्षा बोकेर सांसदहरू संसद्मा उपस्थित भएको उनले उल्लेख गरे।
उनका अनुसार बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत अभिव्यक्त हुने भएकाले सबै सदस्यबीचको समन्वयबाटै संसद्को गरिमा र प्रभावकारिता बढ्नेछ।
सभामुख अर्यालले संसद् अनुशासन र मर्यादामा सञ्चालन हुनुपर्नेमा जोड दिए। प्रचलित कानुन, कार्य सञ्चालन नियमावली र अभ्यासका आधारमा बैठक सञ्चालन हुने जानकारी दिँदै उनले नयाँ प्रतिनिधि सभा गठनसँगै छिट्टै नियमावली मस्यौदा समिति गठन गरिने बताए। साथै बैठकलाई प्रभावकारी बनाउन सदस्यहरूको सुझाव आवश्यक रहेको उनले उल्लेख गरे।
संसद्ले गर्ने हरेक निर्णय र गतिविधि जनताले नजिकबाट नियालिरहेको पनि उनले बताए।
सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाउँदै उनले सबै सांसदको भूमिका समान हुने स्पष्ट पारे। जनताको प्रतिनिधित्व गरेर आएका कुनै पनि सदस्यलाई दलगत आधारमा भेदभाव नगरिने उनको भनाइ छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
