
छोटो समयमै उल्लेखनीय चुनावी सफलता हासिल गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक द्वन्द्वका कारण गम्भीर संकटमा फसेको छ। संरक्षक रेशम चौधरी र उनकी पत्नी तथा अध्यक्ष रञ्जिता श्रेष्ठबीचको चर्किएको कलहले पार्टीलाई नै विभाजित अवस्थामा पु¥याएको छ।
बिहीबार काठमाडौँको बानेश्वरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको भेलाले लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष चयन गरेको छ। लालवीर संरक्षक रेशम चौधरीका पिता र प्रतिनिधिसभा सदस्यसमेत हुन्।
यसअघि रेशम चौधरीले आफ्नी पत्नी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अनुशासनहीनता आरोपमा कारबाही गर्दै पदमुक्त गरेका थिए। रञ्जिता पक्षले उक्त कदमलाई अस्वीकार गर्दै पार्टी विधानअनुसार अध्यक्षले मात्र राष्ट्रिय भेला बोलाउने अधिकार रहेको दाबी गरेको छ।
रञ्जिता श्रेष्ठले स्वास्थ्यका कारण पार्टी बैठक नबोलाई वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्। तर १३ जना संस्थापक केन्द्रीय सदस्यहरूले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेर जवाफ नपाएपछि पदमुक्त गर्दै नयाँ नेतृत्व चयन गरेका हुन्।
अध्यक्ष चयन भइसकेपछि लालवीर चौधरीले भने, “उहाँलाई (रञ्जिता) अहिले पनि पार्टीमा आएर छलफल गर्न आग्रह गरिरहेका छौँ। सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्ने भावना नस्वीकार गर्दा पार्टी यस अवस्थामा आइपुग्यो।”
नाउपामा बढ्दो विवाद पछिल्लो समय रञ्जिता श्रेष्ठ पोखराको एक जग्गा प्रकरणमा मुछिएपछि चर्किएको हो। उक्त प्रकरणमा सार्वजनिक अडिओ र अख्तियारको अनुसन्धानपछि रेशम चौधरीले कारबाहीको निर्णय लिएका थिए।
अन्तरिक द्वन्द्वको असर नाउपाको संसदीय भूमिकामा पनि देखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको नाउपाका रञ्जिता पक्षीय सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिए।
सरकारमा सहभागी मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि समर्थन फिर्ता लिएको नाउपामा यसअघि पनि भ्रष्टाचारका आरोपमा नेताहरू मुछिँदै आएका छन्।
पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको लेनदेनको अडिओ सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए। त्यसपछि कृषि मन्त्री रहेका रामेश्वर चौधरी पनि ‘पावर टिलर’ घोटालामा मुछिएपछि बर्खास्तीमा परेका थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।