२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशीको शीघ्र रिहाइका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी पहल गरिरहेको बताएकी छन्।

उनका अनुसार परराष्ट्र मन्त्रालयको पहलमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी हाल इजरायल भ्रमणमा छन्। भ्रमणका क्रममा उनीहरूले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरी बिपिनको रिहाइका लागि अपिल गरेका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज

मन्त्री राणाले आफू परराष्ट्रमन्त्री बनेदेखि बिपिन जोशीको मुद्दालाई उच्च प्राथमिकतामा राख्दै संयुक्त राष्ट्रसंघीय महासभादेखि लिएर विभिन्न द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा निरन्तर आवाज उठाउँदै आएको बताइन्। उनले जि–७७ प्लस, जि–२०, एलडिसी लगायतका समूहका बैठकमा समेत बिपिनको तत्काल रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको जानकारी दिइन्।

कूटनीतिक पहल जारी

यस क्रममा कतार, इजरायल, इजिप्ट लगायतका उच्च अधिकारीहरूसँग प्रत्यक्ष भेटवार्ता र फोनमार्फत निरन्तर संवाद भइरहेको मन्त्री राणाले बताइन्। मध्यपूर्वी मुलुकस्थित नेपाली दूतावासमार्फत समेत पहललाई सक्रिय रूपमा अघि बढाइएको र त्यसका लागि दूतावासलाई निर्देशन दिइएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय सहयोगको आग्रह

मन्त्री राणाले बिपिनको सुरक्षित रिहाइका लागि अमेरिकासहित अन्य मित्र मुलुकका नेतासँग पनि सहयोग मागिएको स्पष्ट पारिन्। उनले नेपाल सरकारले यो मुद्दालाई उच्च प्राथमिकतामा राखेको र पीडित परिवारसँग पूर्ण साथमा रहेको आश्वासन दिँदै सरकार निरन्तर सक्रिय रहेको बताइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय