
अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेर आफ्नो पदमाथि भइरहेको राजनीतिक चलखेलबारे जिज्ञासा राखेकी छन्।
इन्दिराले आफूलाई हटाउन कांग्रेस र नेकपा (एमाले)ले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गराइरहेको कुरा सुनिरहेको भन्दै शेखरलाई सोधपुछ गरेकी हुन्। “मैले उहाँलाई कल गरेर के हो भनेर सोधें। उहाँलाई मैले पनि चिन्छु, उहाँले पनि मलाई चिन्नुहुन्छ। मेरो कामबारे उहाँलाई थाहा छ,” इन्दिराले भनिन्।
उनका अनुसार शेखरले हटाउने तयारीमा आफू कुनै समर्थनमा नरहेको स्पष्ट पारेका छन्। “उहाँले भन्नुभयो, ‘यस्तै भइरहेको छ, के गर्ने? तर हटाउने कुरामा मेरो समर्थन छैन’,” इन्दिराले भनिन्।
इन्दिराले अग्रज नेताको रुपमा शेखरलाई सम्पर्क गरेको बताइन्। “सिनियरहरूलाई सोध्नुपर्यो नि,” उनले भनिन्।
यसअघि सोमबार साँझ प्रधानमन्त्रीसहित सत्तारुढ दलको संयन्त्र बैठकले उपसभामुखलाई पदअनुकूल आचरण नगरेको भन्दै हटाउने निर्णय लिएको थियो। त्यसपछि कांग्रेस र एमालेले सांसदबाट हस्ताक्षर संकलन सुरु गरेका छन्।
तर, कांग्रेसभित्रको शेखर समूहले हस्ताक्षर गर्न अस्वीकार गरेको छ। गत वर्ष पनि इन्दिरालाई हटाउने प्रयासमा शेखरले विरोध जनाएका थिए।
यसपटक पनि शेखर समूह खुलेर आफ्नो पक्षमा उभिएपछि उपसभामुख इन्दिरा ढुक्क भएकी छन्। शेखर पक्षको असहमतिको कारण बिना उनको समर्थन कांग्रेस र एमालेलाई उपसभामुख हटाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।