
वीरगञ्ज महानगरमा हैजा सङ्क्रमित हुनेको संख्या बढ्दै गएको छ। सोमबारसम्म ९३ जनामा हैजाको पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
आइतबारसम्म ७१ जना सङ्क्रमित फेला परेका थिए भने सोमबार थप २२ जना नयाँ केस पुष्टि भएका हुन्। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।
नारायणी अस्पतालमा आरडिटी परीक्षणमार्फत ३२ जनामा कलेरा पुष्टि भएको छ। त्यसैगरी तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना सङ्क्रमित भेटिएका छन्। अर्ली अर्थाे अस्पतालमा दुई जना बिरामी देखिएका छन् भने नारायणी सेन्ट्रल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा र सर्वोत्तम अस्पतालमा एक/एक जना हैजाका बिरामी भेटिएका छन्।
अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ३४४ जना झाडापखाला र हैजाका बिरामी पुगेका छन्। जसमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियुमा र १२२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य निकायले जनाएको छ।
महानगरमा संघ, प्रदेश र स्थानीय तहले रोकथाम तथा नियन्त्रणका प्रयास गर्दै आए पनि सङ्क्रमण घट्ने कुनै लक्षण देखिएको छैन। स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानी, सरसफाइमा ध्यान दिन र आवश्यक परेको खण्डमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।